Sagun Khabar
दार्चुलाका जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली स्थापना गरिने

दार्चुला –दार्चुलामा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली स्थापना गरिने भएको छ ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले जलविद्युत् पूर्वाधारलगायत जनधनको अकल्पनीय क्षति पुर्याएको घटनाबाट पाठ सिक्दै यहाँका जलविद्युत् आयोजनाको सुरक्षामा विशेष सतर्कता अपनाउन लागिएको हो । 

हिमनदीमा अचानक बहाब बढेमा, पहिरोका कारणले जलविद्युत् आयोजनाको ड्याममा ढुङ्गा, माटो, बालुवा, गेग्रानलगायतका वस्तु थुप्रिएमा सुरक्षा चुनौती बढ्न सक्ने विश्लेषण गर्दै सम्भावित क्षतिको न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली स्थापना गर्ने निर्णय गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।  

जिल्लामा सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनीसँग परियोजनाको प्रकृति, डिजाइन, आपत्कालीन सुरक्षित निकासमार्गमा हुने जोखिमको अवस्था र न्यूनीकरणका उपायबारे समीक्षा गरिएको तथा आयोजनामा विपत् पूर्वसूचना प्रणाली स्थापना गर्ने निर्णय गरिएको उनले बताए ।  

आयोजनाको सुरक्षासँगै आपत्कालीन प्रतिकार्य योजना अन्तर्गत बाढी, नदीको बहाब वृद्धि पहिचान, विद्युत् गृहका कर्मचारी सुरक्षित स्थानमा जाने, बाँधका कर्मचारी सुरक्षित उचाइतर्फ जाने र कर्मचारीको गणना निरन्तर रूपमा गर्ने सन्दर्भमा समेत छलफल गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

यहाँ सञ्चालनमा रहेका साना तथा ठुला जलविद्युत् आयोजनाले आआफ्नो आयोजना स्थलको जोखिम अवस्थाको पहिचान गर्ने र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने पूर्वतयारीको आवश्यक प्रबन्ध गर्ने कुराको पनि तयारी गरिएको उनको भनाइ छ ।

आयोजनामा कार्यरत कर्मचारीको सुरक्षाका लागि हरेक परियोजनाले सुरक्षा एबिल बनाउने, ड्याम रहेको स्थान तथा सो वरिपरिको क्षेत्रको भौगोलिक अवस्था अध्ययन गरी जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सुरक्षा निकायलाई जानकारी गराउन पनि भनिएको छ । 

जलविद्युत् आयोजना क्षेत्र रहेको स्थानबाट विपत् जन्य घटनाको जानकारी उपलब्ध गराउन पूर्वसूचना प्रणाली व्यवस्था गर्ने र जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई नियमित रूपमा सूचना उपलब्ध गराउन आयोजनाबाट मुख्य व्यक्तिलाई सम्पर्क व्यक्ति तोकिएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update