बैतडी–नेपाल रेडक्रस सोसाइटी अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका तदर्थ समितिले बाढी प्रभावित नागरिकका लागि सहयोग रकम पठाएको छ ।
गाउँपालिकाका विभिन्न विद्यालयमा गठन गरिएका जुनियर रेडक्रस सर्कलले संकलन गरेको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गरिएको रेडक्रसको सुर्नया गाउँपालिका तदर्थ समितिका सभापति गणेशदत्त अवस्थीले बताए ।
वासुदेव मावि लिस्किटाको जुरेसबाट १३ हजार ९६०, रौलेश्वर मावि रामकी बरायलको जुरेसबाट १२ हजार, केदार मावि कठमडाको जुरेसबाट ११ हजार १११, कैलपाल मावि झाड्बोको जुरेसबाट ६ हजार ५३०, भुवनेश्वर मावि चौथालीको जुरेसबाट ३ हजार २ सय र सिगास मावि मुसेरौटेको जुरेसबाट १ हजार ९८५ रुपैयाँ गरेर ४८ हजार ५सय १६ रुपैयाँ संकलन भएको सभापति अवस्थीले बताए ।
उक्त संकलित रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गरिएको उनले बताए । बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रेडक्रसको सिद्धान्त अनुसार जुनियर रेडक्रस सर्कलले सहयोग रकम संकलन गरेको सभापति अवस्थीले बताए ।
जुनियर रेडक्रस सर्कलमा सहभागी विद्यार्थीहरुले स्वस्फूर्तमा रुपमा बाढी प्रभावित नागरिकहरुका लागि सहयोग रकम संकलन गरेको भुवनेश्वर मावि चौथालीका सहायक प्रधानाध्यापक उत्तरबहादुर कुँवरले बताए ।




