Sagun Khabar
बाढीले पुल बगाएपछि सिगासका स्थानीय काठेपुल बनाएर आवतजावत गर्दै 

बैतडी–कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका वडा नं ६ र ७ का बासिन्दाले काठेपुल निर्माण गरेका छन् । न्वाघरी गाड नदीमा बनाइएका आरसीसी पुल बाढीले बगाएपछि स्थानीयहरुले २ ओटा काठेपुल निर्माण गरेका हुन् । 

नदीबाट आवतजावत गर्नका लागि तत्काल अन्य व्यवस्था नभएकाले नदीमाथि काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका ६ का स्थानीय डम्मर साउँदले जानकारी दिए । विद्यार्थीहरुको विद्यालय जाने बाटोको पुल बगाएपछि स्थानीयहरुले काठेपुल निर्माण गरेको उनले बताए । उनले भने ‘कार्तिक पहिलो साता परेको अविरल बर्षाले आरसीसी पुल बगाएपछि आवतजावतमा निकै समस्या हुन थाल्यो । बालबालिकाहरुलाई विद्यालयमा जान समेत समस्या भएपछि पुल निर्माण गरेका हौं ।’

नदीमा आएको बाढीले दुई ठाउँमा भएको आरसीसी पुल बगाएपछि स्थानीयहरुले दुवै ठाउँमा काठेपुल निर्माण गरेका स्थानीय समेत रहेका शिक्षक पदम साउँदले बताए । उनले भने ‘वडा नं ७ का विद्यार्थीहरुको गणेश माविमा आउने बाटोमा पर्ने पुल बगाएपछि स्थानीयहरुले मिलेर काठेपुल निर्माण गरेका छन् । अहिले सोही पुलबाट आवतजावत भईरहेको छ ।’

गणेश माविमा अध्ययनरत बालबालिका र पढाउने शिक्षकहरुलाई न्वाघरी नदीमा पुल नहुँदा विद्यालय पुग्न मुस्किल भएपछि पुल निर्माण गरिएको सिगास गाउँपालिकाका ७ का शंकरदत्त अवस्थीले बताए । उनले भने ‘यो नदीमा पुल नहुँदा हामीहरुलाई पालिका सम्म जान समेत समस्या थियो । त्यसैले हामीले तत्कालका लागि काठेपुल निर्माण गरेका हौं ।’ 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update