Sagun Khabar
सेतीको बाढीले बगाएको बाटो पुनर्निर्माण  गर्दै सिगास गाउँपालिका 

बैतडी –कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाका कारण सेती नदीमा आएको बाढीले सिगासको ढुंगाड क्षेत्रमा बगाएको बाटो पुनर्निर्माण कार्य शुरु भएको छ । ढुंगाडदेखि बझाङको देउरा जोड्ने बाटो हिड्नै नमिल्ने गरी बगाएपछि बाटो निर्माण कार्य शुरु भएको हो । 

सिगास गाउँपालिका वडा नं ५,६ र ७ का स्थानीयको मुख्य बजार बझाङको देउरा भएकाले सो क्षेत्रमा जाने बाटो पुनर्निर्माणको काम शुरु गरिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने ‘कुनै कुनै ठाउँमा हिड्नै नमिल्ने गरी बाटो बगाएको छ । त्यसैले समस्या भएका ठाउँमा बाटो निर्माण कार्य अघि बढाएका छौं ।’

सेती नदीले बाटो बगाउँदा करीब दुई सय मिटरमा भने हिड्नै नमिल्ने गरी बाटो सेती नदीमा मिसिएको अध्यक्ष धामीले बताए । माथि ठूलो भीर तल सेती नदी भएको ठाउँमा पर्खाल लगाएर बाटो निर्माणको काम शुरु गरिएको उनले बताए । 

ढुंगाडदेखि देउरा जाने बाटो ठाउँठाउँमा अवरुद्ध हुँदा स्थानीयहरुलाई दैनिक उपभोग्य सामग्रीको समेत अभाव भएको छ । अहिले ढुंगाडबासीहरुले डडेल्धुराबाट खच्चरमा सामान मगाएर जोहो गरिरहेका छन् । 

सिगासको वडा नं ६ र ७ का स्थानीयहरुलाई बाटो समस्या हुँदा दैनिक उपभोग्य सामग्रीको जोहो गर्न निकै मुस्किल भएको स्थानीय समेत रहेका शिक्षक पदम साउँदले बताए । 

कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले सिगासका विभिन्न स्थानमा क्षति पुर्याएको छ भने स्थानीयहरुका खेत बगरमा परिणत भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update