Sagun Khabar
डुंगा दुर्घटनामा मृत्यु भएकी बैतडीकी मीनाको भारतमै अन्तेष्टी गरियो 

बैतडी – बुधबार साँझ महाकाली नदीमा डुंगा पल्टिँदा मृत्यु भएकी १२ बर्षीया मीना साउँदको भारतै अन्तेष्टी गरिएको छ । शिवनाथ गाउँपालिका १ घर भएका चक्रसिंह साउँदकी छोरी मीनाको महाकाली डुंगा पल्टिँदा मृत्यु भएको थियो । 

महाकाली नदीमा पानी बहाव बढी भएकाले नेपाल ल्याउन सक्ने अवस्था नहुँदा मीनाको आज भारतमै आफन्तले अन्तेष्टी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

Atrya hospital

डुंगा पल्टिँदा बेपत्ता भएका मीनाका भाई ८ बर्षीय सन्दीप साउँद भने अझै फेला परेका छैनन् । उनको खोजी कार्य जारी रहेका छ । सन्दीपको खोजीका लागि भारतीय प्रहरीसंग समेत समन्वय भईरहेको प्रवक्ता खड्काले बताए । 

शिवनाथ गाउँपालिका १ स्थित खाँडघाटमा बुधबार साँझ १० जना सवार डुंगा दुर्घटना हुँदा सहोदर दीदीभाई मीना र सन्दीप साउँद बेपत्ता भएका थिए । बेपत्ता मध्ये मीनाको शव फेला परेर अन्तेष्टी गरिसकिएको छ भने सन्दीपको अवस्था अझै अज्ञात रहेको छ । 

दशैंको पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउँदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएकाले बुधबार भारततिर जान लागेका बेला डुंगा दुर्घटनामा परेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

भारतीय छेउतिर पुग्नै लाग्दा डुंगा पल्टिएको हो । डुंगामा सवार अरु ८ पौडिएर बाँच्न सफल भएका थिए । महाकाली नदीमा पुल नहुँदा तल्लोसोराडका स्थानीय जोखिम मोलेर डुंगाबाट महाकाली नदी तर्दै आएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update