Sagun Khabar
बैतडीको ढुंगाडबासी भन्छन् –‘राहत हैन, सुरक्षित बासस्थान चाहिन्छ’

बैतडी– गत साता सेती नदीमा आएको बाढीले सबैभन्दा बढी बैतडीको सिगास गाउँपालिका ५ ढुंगाडमा क्षति पुर्याएको छ । नदीले स्थानीयको सबै जमीन बगाएर बगरमा परिणत गरिदिएको छ । धान रोपेको खेत सबै बगरमा परिणत भएपछि अहिले त्यहाँका १५० परिवारको बिचल्ली भएको छ । 

सेती नदीले घर मात्रै बाँकी राखेको र जमीनजति बगाईसकेको स्थानीय राजेन्द्र चन्दले बताए । उनले भने ‘सेती नदीले जमीन जति सबै बगाईसकेको छ । घरहरु मात्रै बाँकी रहेका छन् । त्यसैले हामीलाई सुरक्षित बास स्थान चाहिएको छ ।’
अब बर्षा भएमा सेती नदी जुनसुकै बेला पनि बस्तीमा पस्ने डर रहेको स्थानीय मंगलबहादुर चन्दले बताए । उनले भने ‘अब हामीलाई सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरिदिनु पर्दछ । नत्र सेती नदीले जुनसुकै बेला पनि हामीलाई दुःख दिन सक्छ ।’

Atrya hospital

सेतीको बाढीले खेत सबै बगाएर तहसनहस गरेपछि अहिले ढुंगाडबासीले सुरक्षित बासस्थानको माग गरिरहेका वडा अध्यक्ष रामबहादुर धामीले बताए । उनले भने ‘स्थानीयहरुले राहत होइन् सुरक्षित बसोबासको माग गरिरहेका छन् । उनीहरुका आवाजलाई हामीले पनि सबै तहका सरकारसंग पुर्याईरहेका छौं ।’

ढुंगाडबासीका समस्या बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा ढुंगाड पुगेको बेला पनि आफूहरुले सुरक्षित बासस्थानको माग गरेको स्थानीय विष्णु चन्दले बताए । उनले भने ‘हामीले के सेती नदीमा पक्की तटबन्ध हुनुपर्ने भनेका छौं । नत्र हामीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरियोस भनेका छौं ।’

यस्तै प्रदेश सरकारको टोलीसंग पनि ढुंगाडबासीले सुरक्षित बासस्थानको माग गरेका छन् । समान्य राहतले केही नहुने भएकाले आफूहरुले सुरक्षित बासस्थानको माग गरेको स्थानीय प्रेम चन्दले बताए । 

बेमौसमी बर्षाले सेती नदीमा आएको बाढीले ढुंगाडमा सबैभन्दा बढी क्षति पुर्याएकाले ढुंगाडबासीका मागलाई आफूले प्रधानमन्त्री समक्ष राखेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने ‘सेती नदीमा पक्की तटबन्ध गरेर हुन्छ कि उनीहरुलाई अन्यत्र सारेर हुन्छ, ढुंगाडबासीको समस्या समाधान गरिदिन आग्रह गरेको छु । प्रधानमन्त्रीबाट सकारात्मक जवाफ पाएको छु ।’

ढुंगाडमा अहिले बाढी पहिरो खानेपानी, बाटोघाटो सबै नष्ट गरेको छ भने स्थानीयहरुलाई खानेपानीको समेत समस्या भएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update