Sagun Khabar
हात्तीपाइले निवारणका लागि बैतडी, दार्चुला र बझाङमा सर्वेक्षण गरिने, ५७ विद्यालय छनौट 

बैतडी–पहाडी जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भएको नभएको बारेमा थाहा पाउन सर्वेक्षण गरिने भएको छ । लगातार ६ बर्ष हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन भएका बैतडी, दार्चुला र बझाङमा सर्वेक्षण गरिन लागेको हो । 

आम औषधि सेवन कार्यक्रमपछि यी जिल्लाहरुमा हात्तीपाइले रोगका बिरामी फेला नपरेकाले अब रोग भएको नभएको बारेमा विद्यालयमा पुगेर सर्वेक्षण गरिने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले जनाएको छ । 

Atrya hospital

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत बुधबार बैतडीमा आयोजना गरिएको कार्यक्रममा तीन जिल्लामा नमूना संकलन गरेर हात्तीपाइले रोग निवारण भए नभएको बारेमा जानकारी लिइने केन्द्रले जनाएको छ । 

यसका लागि बैतडीका २२ सहित दार्चुला र बझाङ गरेर ५७ विद्यालय छनौट भएका छन् । ती विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत बालबालिकाहरुको नमूना संकलन गरेर हात्तीपाइले रोगका बिषयमा जानकारी लिइने बताइएको छ । 

तीन जिल्लाका ४६ हजार बढी विद्यार्थीको नमूना संकलन गरिने बताइएको छ । आगामी मंसिर महिनामा सर्वेक्षणको काम सञ्चालन गरिने बताइएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले सर्वेक्षण कार्यक्रमलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले सर्वेक्षणका बिषयमा आम अभिभावकहरुलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।  
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update