Sagun Khabar
उपभोक्ता समितिको चरम लापरवाही, हाट बृहत खानेपानी योजना अलपत्र 

बैतडी–पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा खानेपानीको व्यवस्थापन गर्नका लागि ३ बर्ष अगाडि हाट बृहत खानेपानी योजना लागू भएको भएपनि अझै कार्यान्वयनमा आउन सकेको छैन् ।  

खानेपानी योजना सम्पन्न गर्नका लागि गठन भएको उपभोक्ता समितिको चरम लापरवाहीका कारण खानेपानी योजना अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले जनाएको छ । २०७८ सालमा सम्पन्न गर्ने लक्ष्य सहित सो योजनामा बजेट विनियोजन भएको भएपनि अहिले सम्म काम नै शुरु हुन सकेको छैन् । 

पुर्चौंडी नगरपालिकाको केन्द्र हाट बजारलाई मध्यनजर गरेर बृहत खानेपानी योजना कार्यान्वयन गर्न खोजिएको थियो । नगरपालिकाको वडा नं ७ कोटिलाबाट हाटमा खानेपानी योजना ल्याउने भनेपनि समितिले काम अघि नबढाउँदा योजना अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताए । उनले भने ‘हाटमा खानेपानी पुर्याउनका लागि प्रत्येक बर्ष बजेट विनियोजन हुन्छ । काम नगर्दा बजेट फ्रिज गईरहेको छ ।’
२०७५ सालमा मेनलाइनमा केही काम भएपनि त्यसपछि कुनै काम अघि बढ्न नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सब–इन्जिनियर मनिराम लामिछानले बताए । उता सो योजनामा काम गरेका उपभोक्ताहरुले अहिले सम्म पैसा नपाएको गुनासो गरेका छन् । तर कार्यालयले भने केही रकम निकासा भईसकेको जनाएको छ । 

Atrya hospital

उज्जवलसिंह साउँद अध्यक्ष रहेको समितिको लापरवाहीका कारण काम अगाडि नबढेको भन्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले अर्को समिति गठन गर्न पत्राचार गरिसकेको जनाएको छ । तर अहिले सम्म कुनै प्रक्रिया अघि बढेको छैन् । 

पुर्चौंडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरको इच्छा अनुसार साउँदलाई समितिको अध्यक्ष बनाइएको र सो समितिले काम गर्न नसकेको पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेश गडालले बताए । उनले भने ‘खानेपानीका उपभोक्ता सबै वडा नं १ का छन् समिति वडा नं ७ का मान्छेहरुको बनाइएको छ । त्यो समितिले काम गरेको छैन् । जो उपभोक्ता हुन उनलाई समितिमै राखिएको छैन् अनि कसरी काम हुन्छ ।’

हाट बृहत खानेपानी योजनाका लागि २०७५ सालमा २० लाख बजेट विनियोजन भएको थियो । त्यसपछि लगातार त्यो योजनामा बजेट विनियोजन हुन्छ । खानेपानी योजनाको काम नहुँदा हरेक बर्षको बजेट फ्रिज जाने गरेको छ । सो योजनामा गत आर्थिक बर्षमा ५५ लाख रुपैंया बजेट विनियोजन भएकोमा सबै रकम फ्रिज गएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख बोगटीले बताए । 

प्रत्येक बर्ष बजेट फ्रिज हुन थालेपछि सो योजनामा चालु आर्थिक बर्षमा १० लाख मात्रै बजेट विनियोजन भएको छ । 
हाट बहृत खानेपानी योजनाको काम अघि बढाउन नगर प्रमुख कुँवर समेत उदासीन देखिएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको टोलीसंग योजनाको काम अघि बढाउने आश्वासन दिएका नगरप्रमुखले योजनाका बिषयमा अहिले सम्म कुनै काम अघि बढाउन सकेका छैनन् । 

नगरपालिकाका अन्य जनप्रतिनिधिहरुले पनि नगर प्रमुखकै उदासीनता र समितिको लापरवाहीका कारण खानेपानी योजना अलपत्र परेको बताएका छन् । ‘खानेपानी योजना अहिले सम्म सम्पन्न हुनुपर्ने हो । यो बिषयमा मेयर सापले पनि खासै चासो दिएका छैनन् । समितिले काम नै गरेको छैन् ।’उपप्रमुख जानकी ऐर बमले भनिन् 

पुर्चौंडी नगरपालिकाको केन्द्रमा हाटमा १५८ घरधुरीमा खानेपानी योजना पुर्याउने लक्ष्यका साथ शुरु भएको हाट बृहत खानेपानी योजना ३ बर्षदेखि अलपत्र हुँदा समेत सरोकारवालाहरुको ध्यान जान सकेको छैन् । विकास निर्माणका लागि आएको बजेट प्रत्येक बर्ष फ्रिज हुँदा समेत नगरपालिकाले समेत कुनै मतलब राखेको पाइँदैन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update