Sagun Khabar
सेती नदीले बाटो बगाउँदा सिगासबासी जोखिम मोलेर आवतजावत गर्दै  

बैतडी–बेमौसमी बर्षाका कारण सेती नदीमा आएको बाढीले बाटो बगाउँदा सिगासबासीलाई आवतजावतमा निकै समस्या भएको छ । दैनिक खाद्यान्न लगायतका सामग्रीका लागि बझाङको द्यौरा जानुपर्ने र बोरीबगरमा नदीले बाटो बगाएपछि जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रही आएको सिगास ७ का स्थानीय भीमबहादुर बोहराले बताए ।

सिगास गाउँपालिका वडा नं ५, ६ र ७ का स्थानीय सोही बाटो भएर बझाङको द्यौरा पुगेर दैनिक उपभोग्य सामग्री ल्याउने गर्दछन् । तर बाटो नै सेती नदीले बगाएपछि अहिले जोखिमपूर्ण रुपमा आवतजावत गर्नु परीरहेको स्थानीय शिक्षक पदम साउँदले बताए । उनले भने ‘ज्यानको बाजी राखेर हिड्नुपर्ने अवस्था छ । नजाऔं भने नुनतेलका लागि पनि द्यौरा बजार पुग्नुपर्छ । बाटोको अवस्था निकै जोखिमपूर्ण छ ।’

Atrya hospital

सेती नदीले तहसनहस गरेकै बाटोमा जोखिम मोलेर सिगासका स्थानीयहरुले हिड्नुपरीरहेको सिगास गाउँपालिका वडा नं चन्द्रसिंह साउँदले बताए । उनले भने ‘हाम्रो नजिकको बजार भनेको बझाङको द्यौरा हो । सो ठाउँमा जान अन्य वैकल्पिक बाटो छैन् । अहिले यही बाटो जोखिम मोलेर आवतजावत गरिरहेका छौं ।’

दशैं अघि तराइतिर झरेका सिगास गाउँपालिका ५, ६ र ७ का स्थानीय पहाडतिर फर्किन थालेका छन् । द्यौरा हुँदै आफ्नो घर पुग्न उनीहरुलाई निकै समस्या भएको स्थानीय धनबहादुर बोहराले बताए । उनले भने ‘यस्तो हाम्रो जीवनकालमा कहिले देखेका थिएनौं । सेती नदीले उठीबास गरिदियो । बाटोघाटो समेत नराख्दा हामीलाई धेरै समस्या भएको छ ।’ 

बाटो नहुँदा दैनिक उपभोग्य सामग्री गाउँमा अभाव भएको स्थानीयहरुले बताएका छन् । गाउँमा दैनिक उपभोग्य सामग्रीको अभाव भएपछि स्थानीयहरु जोखिम मोलेर बझाङको द्यौरा पुग्ने गरेका छन् । 

बैतडीका मात्रै नभएर डोटीको आदर्श गाउँपालिका वडा नं ४, ५ र ६ का स्थानीय समेत सोही बाटो भएर आवतजावत गर्ने गर्दछन् । बाढीले बाटो तहसनहस गरेपछि उनीहरुलाई निकै समस्या भएको शिक्षक साउँदले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update