Sagun Khabar
बैतडीमा पहिरोले ५० बढी खानेपानी योजनामा क्षति

बैतडी – बेमौसमी बर्षाका कारण बैतडीका विभिन्न स्थानमा खसेको पहिरोले ५० बढी खानेपानी योजनामा क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका खानेपानी योजनामा क्षति पुर्याएपछि स्थानीयबासीहरुलाई खानेपानीको समस्या भएको छ । 

खानेपानीको मूहानमै पहिरो खसेपछि कार्तिक पहिलो सातादेखि सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । पहिरोले खानेपानी संरचनामा क्षति पुर्याएकाले बल्ल ट्यांकी सम्म पानी पुर्याउन सकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले जनाएको छ । 

Atrya hospital

जिल्लाको सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकामा अन्य ठाउँको तुलनामा खानेपानीका योजनाहरुमा बढी क्षति भएको प्रारम्भिक तथ्यांक आएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले बताए । उनले भने ‘अहिले सम्म ५० बढी योजनामा क्षति पुर्याएको तथ्यांक आएको छ । यो भन्दा बढी क्षति गरेको हुन सक्ने आँकलन गरिएको छ ।’

पहिरोका कारण खानेपानी योजनाहरुमा क्षति पुर्याएपछि ठाउँठाउँमा खानेपानीको अभाव भएको स्थानीयहरुले बताएका छन् । योजनाहरुमा क्षति पुर्याएपछि स्थानीयहरु दूषित पानी प्रयोग गर्न बाध्य भएका सिगासका शिक्षक पदम साउँदले बताए । पहिरोले खानेपानीका मूहान नष्ट भएपछि स्थानीयहरु नदीकै दूषित पानी प्रयोग गरिरहेका उनले बताए । 

पहिरोका कारण खानेपानी योजनाहरुमा क्षति पुर्याएपछि सरुवा रोग संक्रमणको जोखिम समेत बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । दूषित पानीका कारण आउँ, झाडापखाला, टाइफाइड, हैजा जस्ता रोगको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनले भने ‘दूषित पानीको कारणले पानीजन्य रोगको जोखिम बढ्दै गएको छ । गाउँघरमा पानी शुद्धीकरण गर्ने चलन नभएकाले झन् समस्या हुन सक्छ ।’

पहिरोका कारण खोलानालामा दूषित पानी भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । पानी उमालेर प्रयोग गरेमा पानीजन्य रोगको जोखिम कम गर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update