Sagun Khabar
बैतडीको शिवनाथ गाउँपालिकाद्वारा पहिरोबाट मृत्यु भएका परिवारलाई राहत

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई नगद राहत वितरण गरेको छ । गाउँपालिकाको वडा नं ६ बसेडीमा यही कार्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको मृत्यु भएको थियो । मृतकका परिवारलाई ५० हजारका दरले नगद १ लाख ५० हजार रुपैयाको चेक राहत स्वरुप उपलब्ध गराइएको गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् । 

सोमबार बिहान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरे बमोजीम राहत प्रदान गरिएको उनले बताइन् । 

पीडित परिवारको घरमै गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, उपाध्यक्ष कुस्मा चन्द लगायतको टोली पुगेर राहत वितरण गरिएको हो । यस्तै पीडित परिवारलाई यसअघि नै पालिकाका तर्फबाट खाद्यान्न सामग्री वितरण गरिसकिएको उपाध्यक्ष चन्दले बताइन् । 

Atrya hospital

पहिरोले घर लगेपछि अहिले पीडित परिवारको आफन्तको घरमा आश्रय लिएर बसीरहेका छन् । उनीहरुको उचित बसोबासका लागि पनि पालिकाले पहल गर्ने उपाध्यक्ष चन्दले बताइन् । उनले भनिन् ‘पाए सम्म जमीन खोज्न भनेका छौं । जमीन नपाए बाँझो जमीन उपयोग गरेरै भएपनि पीडित परिवारको बसोबासको व्यवस्था गर्छौं ।’

तत्काल राहत कार्यविधि अनुसार पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको शिवनाथ गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अन्य ठाउँमा पनि पहिरोले क्षति पुर्याएकाले स्थलगत रुपमै अनुगमन निरीक्षण र तथ्यांक संकलनको काम भईरहेको बताइएको छ । तथ्यांक संकलन पछि पीडित परिवारलाई पालिकाका तर्फबाट उचित राहत दिने उपाध्यक्ष चन्दले बताइन् । 

यसअघि शनिबार मात्रै जिल्ला विपद् व्यवस्थापन समितिले पनि पहिरोबाट मृत्यु भएका परिवारलाई राहत वितरण गरेको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती नेतृत्वको टोली पीडितको घरमै पुगेर १ लाख २० हजार किरिया खर्च उपलब्ध गराएको थियो । संघीय सरकारले दिने राहत रकमबाट उनीहरुलाई किरिया खर्च उपलब्ध गराइएको हो । 

गत साता परेको अविरल बर्षाले खसेको पहिरोमा पुरिएर शिवनाथका ३ र सुर्नयाका एक जना गरी बैतडीमा चार जनाको निधन भएको थियो । पहिरोका कारण कैंयौका घरखेत बगेका छन् भने धेरै नागरिक घरबार विहिन भएका छन् । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update