Sagun Khabar
बैतडीमा २ हजार सात सय हेक्टर जमीनमा लगाएको धानबालीमा क्षति 

बैतडी –बेमौसमी बर्षाका कारण बैतडीमा २ हजार सात हेक्टर जमीनमा लगाएको धानबालीमा क्षति भएको अनुमान गरिएको छ । जिल्लामा ९ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएकोमा ३० प्रतिशत क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए । उनले भने ‘अहिले सबै ठाउँको विवरण आईसकेको छैन् । कम्तीमा ३० प्रतिशत बाली नोक्सान भएको हामीले प्रारम्भिक अनुमान गरेका छौं ।’
सिगास गाउँपालिकाको ढुंगाड, डिलाशैनीको गोकुलेश्वर र पाटन क्षेत्रमा धानबालीमा बढी क्षति पुर्याएको चन्दले बताए । 

पाटनमा २ हजार ५ सय हेक्टरमा धानखेती हुने गरेकोमा ५५० हेक्टर जमीनमा लगाएको धानबाली पूर्ण रुपमा नष्ट भएको छ भने ६९० हेक्टर जमीनमा लगाएको धानबालीमा आंशिक क्षति पुगेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा यो बर्ष बर्षाले धान उत्पादनमा कमी आउने कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । 

Atrya hospital

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर क्षेत्रमा पनि धानबालीमा बर्षाले क्षति पुर्याएको छ । किसानहरुले भित्र्याउन नपाएको धानबालीमा क्षति पुगेको हो । गोकुलेश्वरमा १ हजार ४४ हेक्टरमा धानखेती हुने गरेको २ सय हेक्टर जमीनको धानबाली पूर्ण रुपमा नष्ट भएको जानकारी आएको कृषि प्रसार अधिकृत चन्दले बताए । यस्तै १५० हेक्टर जमीनमा लगाएको धानबालीमा आंशिक क्षति पुगेको छ । 

जिल्लाको ढुंगाड क्षेत्रको भने एकीन तथ्यांक अझै आइनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धानखेती लगाएको जमीन पुरै बगरमा परिणत भएकाले त्यो क्षेत्रमा बढी नोक्सानी भएको छ । 

बैतडीमा १८ हजार ९ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको भएपनि यो बर्ष ३० प्रतिशतले उत्पादनमा कमी आउने आँकलन गरिएको छ । अन्य बर्षको तुलनामा यो बर्ष जिल्लामा खाद्यान्न आयातमा वृद्धि हुनेछ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update