Sagun Khabar
बैतडी सदरमुकाममा एक हप्तादेखि खानेपानीको हाहाकार 

बैतडी– बैतडी सदरमुकाममा गएको हप्तादेखि खानेपानीको हाहाकार भएको छ । गतसाता परेको अविरल बर्षाका कारण खसेको पहिरोले खानेपानीको मूहानमा क्षति पुर्याएपछि सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । 

सदरमुकामबाट झण्डै ६ किलोमिटर टाढा रहेको माडखोला मूहानमा पहिरो खसेपछि सदरमुकाममा आउने खानेपानी अवरुद्ध भएको हो । मूहान सहित पाइप लाइनमा समेत पहिरोले क्षति पुर्याएको बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले बताए । उनले भने ‘पहिरोले खानेपानीको संरचनामा व्यापक क्षति पुर्याएकाले खानेपानी सुचारु गर्न समस्या भएको छ । हामीले खानेपानी सञ्चालनका लागि पहल गरिरहेका छौं ।’

Atrya hospital

सदरमुकाम क्षेत्रमा खानेपानी अवरुद्ध भएपछि सबैभन्दा बढी मारमा होटल व्यवसायी परेका छन् । पानी नहुँदा होटल व्यवसाय सञ्चालनमा निकै समस्या भएको व्यवसायी अम्बादत्त भट्टले बताए । उनले भने ‘होटेलमा आउने ग्राहकलाई पानी दिन सकिएको छैन् । यसले गर्दा व्यवसाय सञ्चालनमै समस्या भएको छ ।’

सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ती बन्द भएपछि १ हजार बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । खानेपानीको अभाव हुँदा सदरमुकामको शाहीलेक,गढी र गोठलापानीका बासिन्दाहरुलाई झन् समस्या भएको छ । पानीको अभावमा शौचालय समेत प्रयोग गर्न मुस्किल भएको स्थानीयबासीले बताएका छन् । 

यसैबीच सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएपछि नेपाली सेनाले खानेपानी वितरण गरेको छ । हनुमान ध्वज गुल्मले गुल्ममा रहेको पानी गढीका स्थानीय तथा होटल व्यवसायीहरुलाई वितरण गरेको गुल्मपति खिमबहादुर रानाले बताए । गढीमा रहेका सरकारी कार्यालयहरुलाई पनि खानेपानी वितरण गरिएको उनले बताए । सेनाले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, जिल्ला कारागार, जिल्ला प्रसाशन लगायत स्थानीय र व्यवसायीहरुलाई पानी सहयोग गरिरहेको हो । 

यता खानेपानी उपभोक्ता समितिले सकेसम्म आज साँझ पानी सुचारु गर्ने प्रयास भईरहेको बताएको छ । खानेपानीको मूहान रहेको दशरथचन्द नगरपालिका ९ माडखोलादेखि भ्युचुला सम्मको भागमा खानेपानीका संरचनाहरुमा व्यापक क्षति पुगेकाले पानी सुचारु गर्न समस्या भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए । उनले भने ‘हामी अहिले पनि काम गरिरहेका छौं । बल्ल आज भ्युचुला सम्म पानी पुगेको छ । अब पानी सुचारु हुने आसा पलाएको छ ।’ 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update