Sagun Khabar
चार वर्षअघि पराजित वडाध्यक्ष पुन: मत गणना गर्दा विजयी

काठमाण्डौं –स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं १० को परिणाम उल्टिएको छ। सर्वोच्च अदालतको आदेशपछि पुनः भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका हुन्। आइतबार जनकपुर उच्च अदालतको सभाहलमा भएको मतगणनामा उनी दुई मतले विजयी भएको परिणाम आएको हो । रायले २६८ मत ल्याएका थिए। यता स्थानीय तहको निर्वाचनको वेला निर्वाचन कार्यालयले विजयी घोषणा गरी हालसम्म वडाध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएका छन्।

०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अरुणकुमार चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको २६७ मत आएकोमा निर्वाचन अधिकृतले अरुणकुमार चौधरीको ३ ओटा बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो। त्यसपछि आफू नभएको वेला निर्वाचन अधिकृतले गोलाप्रथा गरी अरुणकुमार चौधरीलाई निर्वाचित गरिदिएको  भन्दै रमेशकुमार रायले मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सवोच्च अदालतले कार्तिक ७ गते पुनः मतगणना गर्नू भन्ने आदेश दिएको थियो। 

Atrya hospital

उच्च अदालत जनकपुरबाट ०७५ असार २१ गते नै १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएकोमा नेपाली कांग्रेसबाट निर्वाचित भएका वर्तमान वडाध्यक्ष अरुण चौधरीले सर्वोच्चमा आदेश खारेजी गरिपाऊँ भन्दै निवेदन दिएका थिए। ०७७ साल चैत्र ६ गते उच्च अदालत जनकपुरकै आदेशलाई सर्वोच्चले सदर गरिदिएकोमा कोरोनाको कारण मतगणनाको मिति तय हुन सकेको थिएन। उच्च अदालत जनकपुरको इजलास नं। २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ०७८ कार्तिक ७ गते बिहान ११ बजेका लागि मतगणनाको मिति तोकेको थियो। 

-नयाँ पत्रिकाबाट 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update