बैतडी –गत असोज ३१ गते रातीदेखि तीन दिन परेको अविरल बर्षाले बैतडीका ९ घरपरिवारलाई पूर्ण रुपमा विस्थापित गरेको छ । जिल्ला प्रहरी कार्यालयमा प्राप्त तथ्यांक अनुसार अहिले सम्म ९ घर पूर्ण रुपमा क्षति भएका छन् । घर नै पूर्ण रुपमा क्षतिग्रस्त भएपछि उनीहरु अहिले आफन्तको घरमा आश्रय लिएर बसीरहेका छन् ।
यस्तै बाढी पहिरोका कारण १३ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । तीन दिनको अविरल बर्षाका कारण आएको पहिरोले पुरिएर बैतडीमा ४ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
यस्तै ३१ पशुचौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी पहिरोले पुर्याएको क्षतिको विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
बेमौसमी बर्षाका कारण धेरै नागरिकको घरखेत बगाउँदा समस्या भएको छ । कतिपय ठाउँको पहिरोको जोखिम बढेको प्रहरीले जनाएको छ ।