Sagun Khabar
पहिरोले बैतडीको रातापानी बस्तीका ६ घरपरिवार विस्थापित 
फोटो: बैतडीको मेलौलीमा २ मा पहिरोले क्षति पुर्याएको जीत लुहारको घर, तस्बिर : पवन अवस्थी

बैतडी –असोज ३१ गते रातीदेखि लगातार तीन दिन परेको अविरल बर्षाले बैतडीका विभिन्न स्थानमा क्षति पुर्याएको छ । बर्षाका कारण खसेको पहिरोले सुर्नया गाउँपालिका वडा नं ८ को रातापानी बस्तीका ६ घरपरिवार विस्थापित भएका छन् । 

पहिरोले घर भत्काएपछि ६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका वडा अध्यक्ष आनन्द बोहराले जानकारी दिए । उनले भने ‘पहिरोले वडा नं ८का धेरै स्थानमा क्षति पुर्याएको छ । ठाउँठाउँमा पहिरो खस्दा स्थानीयहरुको खेतबारी जम्मै बगाएको छ । ६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।’

Atrya hospital

कार्तिक १ गते खसेको पहिरोले स्थानीय धनुवा बोहरा, रामसिंह बोहरा, प्रेम बोहरा,उद्धव बोहरा, चक्र बोहरा र सालिभान बोहराको परिवार पूर्ण रुपले विस्थापित भएका वडा अध्यक्ष बोहराले बताए । 

यस्तै मल्लोढोले टोलमा २० घरपरिवार दलित बस्ती पहिरोको उच्च जोखिममा परेको छ । बस्तीमाथिबाट खनिएको सडकका कारण पहिरो खसेपछि बस्ती नै पहिरोको जोखिममा परेको हो । ढोल्यामोडदेखि वडा कार्यालय जोड्ने सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक तलतिरको बस्ती जोखिममा परेको बताइएको छ । 

यस्तै रातापानी बस्तीको २७ घरपरिवार पहिरोको जोखिममा परेका वडा अध्यक्ष बोहराले बताए । यसैगरी कठमडा टोलका १० घरपरिवार पहिरोको जोखिममा परेका बताइएको छ । यस्तै सुर्नया गाउँपालिका वडा नं ७ को तिन्नाकोइला बस्तीमा तीन घर पहिरोको जोखिममा परेका छन् । घरमाथिबाट खसेको पहिरोले स्थानीयका तीन घर आंशिक रुपमा पुरेको स्थानीय गणेश कुँवरले जानकारी दिए । 

पहिरो प्रभावित क्षेत्रमा वडा अध्यक्ष भक्तबहादुर कुँवरको नेतृत्वमा अनुगमन गरिएको छ । वडा अध्यक्ष कुँवर सहितको टोलीले पहिरोले पुर्याएको क्षतिको विवरण संकलन गरिएको जनाइएको छ । 

यस्तै मेलौली नगरपालिका वडा नं २ सिराडमा पहिरोका कारण एक घरपरिवार विस्थापित भएको छ । स्थानीय जीतबहादुर लुहारको घरमा पहिरो खसेपछि उनको परिवार विस्थापित भएको हो ।

लुहारको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसीरहेका छन् । यस्तै स्थानीय धनी लुहारको घर पहिरोको जोखिममा परेको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  ०९:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update