Sagun Khabar
आज फूलपाती, बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु 

बैतडी –आज दशैँको फूलपाती । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।  

Atrya hospital

नौ वटा  देवीको प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए । फूलपाती भित्र्याएपछि नौवटा  देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ । महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीका दिन बलि सहित सम्पन्न हुन्छ । आज निङ्गलाशैनी भगवतीको बिशेष पूजाआजा हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरमा घटस्थपनादेखि नै पूजाआजा शुरु हुन्छ । फूलपाती भित्र्याएर आज बिशेष पूजाआजा हुने गर्दछ ।’

निङ्गलाशैनी भगवती मन्दिरमा रांगाको बलि दिने भाकल गरेकाहरुले आज नै रांगा मन्दिरमा लगेर बाध्ने चलन रही आएको छ । 
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय देहीमाण्डौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि घटस्थापनादेखि नै देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए । 

आजैका दिनदेखि दशैं बिदा पनि सुरु भएको छ । दशैँको पाँच दिन बिदा हुने गरेकाले सरकारी कार्यालय पनि बन्द हुन्छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०७:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update