Sagun Khabar
बैतडीको प्रसिद्ध अनिरुद्र मन्दिरमा जात्रा हुँदै 

बैतडी –बडादशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्ने क्रम जारी रहेको छ । जिल्लाका प्रसिद्ध धार्मिक स्थल मध्ये आज आश्विन शुक्ल चतुर्थीका दिन अनिरुद्र मन्दिरमा जात्रा हुने गर्दछ । 

हरेक बर्ष नवरात्रको चतुर्थी र महाष्टमी तिथीमा अनिरुद्र मन्दिरमा जात्रा हुने गरेको अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । अनिरुद्र देवताको पूजाआजा गरेमा विद्या प्राप्त हुने जनविश्वास रही आएको उनले बताए । अनिरुद्र देवतालाई वेदका धनी देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ । 

Atrya hospital

अवस्थीहरुको कुल देवताको रुपमा समेत अनिरुद्र देवताको पूजाआजा गर्ने गरिएको छ । बह्रमरुपी देवता भएकाले अनिरुद्र देवताको पूजाआजा गरेमा सुख,शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने अनिरुद्र मन्दिरका अर्का पूजारी गणेशदत्त अवस्थीले बताए । 

अनिरुद्र मन्दिरमा असोज शुक्ल चतुर्थी र अष्मटी, चैत शुक्ल चतुर्थी र अष्टमी, माघ शुक्ल चतुर्थी र भदौ शुक्ल चतुर्थीका दिन जात्रा तथा पूजाआजा हुने गरिएको छ । 

बैतडीको सुर्नया ६ स्थित मूलखटालीमा अनिरुद्र देवताको मुख्य मन्दिर रहेको छ । सो मन्दिरमा हरेक बर्ष टाढाटाढाका दर्शनार्थीहरु पुग्ने गर्दछन् । यसका साथै पाटन नगरपालिका, सिगास गाउँपालिका लगायतका क्षेत्रमा पनि अनिरुद्र देवताको पूजाआजा हुने गरेको पूजारी अवस्थीले बताए । आयत्री गोत्र भएका अवस्थीहरुको बसोबास भएको ठाउँमा अनिरुद्र देवताको पूजाआजा हुने गरेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update