Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा जीन एक्सपर्ट मेसिन जडान

बैतडी –जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा जीन एक्सपर्ट मेसिन जडान गरिएको छ । क्षयरोग पत्ता लगाउन र यो रोगको विरूद्धमा प्रयोग गरिने औषधिहरूले काम गरेको नगरेको पत्ता लगाउन यो मेसिन जडान गरिएको जिल्ला अस्पतालका बरिष्ठ ल्याब असिष्टेन्ट चन्द्रसिंह डोबालले जानकारी दिए । 

क्षयरोगको पहिचान तथा क्षयरोगका बिरामीहरुका लागि प्रयोग गरिने रिफाम्पिसिन औषधीले काम गरे नगरेको बारेमा परीक्षण गर्न सो मेसिनले सहयोग गर्ने उनले बताए ।

Atrya hospital

क्षयरोगका बिरामीहरुका लागि औषधिले काम गरिरहेको भएपनि ६ महिना नियमित रुपमा औषधि खुवाउनुपर्ने र औषधिले काम नगरेको पाइएमा २० महिना औषधि खुवाउनुपर्ने हुन्छ । क्षयरोगका बिरामीहरुको उपचारका लागि यो कुरा पत्ता लगाउन जीन एक्सपर्ट मेसिनले काम गर्ने डोबालले जानकारी दिए  । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको सहयोगमा जिल्ला अस्पतालमा सो मेसिन जडान गरिएको बरिष्ठ ल्याब असिष्टेन्ट डोबालले जानकारी दिए । 

जिल्ला अस्पतालमा यो सेवा सुचारु भएसंगै अब क्षयरोगका बिरामीहरुले थप चेकजाँचका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । क्षयरोगका बिरामीको उपचारमा प्रयोगका भएका औषधिले काम गरे नगरेको बिषयमा जानकारी लिन पहिला बिरामीहरुलाई डडेल्धुरा तथा धनगढी पठाउनुपर्ने बाध्यता रही आएको थियो । 

जिल्ला अस्पतालमै यो सेवा शुरु भएपछि अब बिरामीहरुलाई पनि सजिलो हुने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका प्राविधिकहरुको टोलीले जिल्ला अस्पतालमा सो मेसिन जडान गरेको हो । 
 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update