Sagun Khabar
समाजेसेवी अवस्थीको सम्झनामा बैतडीमा श्रद्धाञ्जली सभा 

बैतडी –बरिष्ठ समाजसेवी एवं पुराना बामपन्थी नेता पृथ्वीराज अवस्थीको स्वर्गारोहण भएको १३ औं दिनको पुण्यतिथीमा उनको जन्मथलो बैतडीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । जिल्ला सदरमुकाममा आयोजना गरिएको श्रद्धाञ्जली सभामा सहभागिहरुले अवस्थीले समाज रुपान्तरणमा खेलको भूमिकाका बिषयमा चर्चा गरेका थिए । 

तत्कालिन समयमा समाज रुपान्तरणका लागि अवस्थीले अथक प्रयास गरेको माओवादी केन्द्रका नेता खिमानन्द भट्टले बताए । ‘लालटीन बाजे’को नामले परिचित अवस्थीले समाजमा रहेका विभिन्न विकृति विसंगति अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका उनले बताए । 

Atrya hospital

श्रद्धाञ्जली सभामा साहित्यकार प्रकाश चन्दले अवस्थीले समाज रुपान्तरणमा पुर्याएको योगदानका बारेमा चर्चा गरे । समाजसेवी भुवन चन्दको अगुवाईमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा अवस्थीले विभिन्न विधामा पुर्याएको योगदानका बारेमा चर्चा गरिएको थियो । 

यस्तै अवस्थीको जन्मथलो बैतडीको सुर्नया गाउँपालिका ६ मूलखटालीमा पनि बिहीबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । नेकपा एमाले सुर्नया गाउँपालिका कमिटिले आयोजना गरेको श्रद्धाञ्जली सभामा अवस्थीले समाजका लागि गरेको योगदानका बारेमा चर्चा गरिएको थियो । 

बैतडीको सुर्नया गाउँपालिका ६ मूलखटाली घर भएका बामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको गएको असोज ९ गते निधन भएको थियो । पछिल्लो समयमा कैलालीको गोदावरी नगरपालिका वडा नं १ गेटा बिजौरा बस्दै आएका अवस्थीको कैलालीमै निधन भएको थियो । 

बैतडीमा बामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ । यस्तै जातीय विभेद अन्त्यका लागि समेत अवस्थीले ठूलो योगदान पुर्याएको स्थानीयहरुले बताएका छन् । 

२०४६ सालको परिवर्तन पछि एमालेबाट चुनाव समेत लडेका अवस्थी पराजित भएका थिए । उनले चुनाव ताका लगाएको एक भोट एक नोटको नारा धेरै चर्चामा रहेको छ । अवस्थी लालटीन बाजेको नामले समेत परिचित थिए । 

प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपद्वीबाट विभूषित भएका अवस्थीले गोरखा दक्षिणबाहु पनि पाएका थिए । पृथ्वीराज अवस्थीलाई वैचारिक र निष्ठावान नेताका रुपमा लिने गरिन्छ । उनले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्व समेत गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update