Sagun Khabar
बैतडीमा सामूहिक रुपमा शक्तिपीठहरुमा जमरा राखियो 

बैतडी –हिन्दू नेपालीहरुको महान चाड बडादशैं आजदेखि शुरु भएको छ । आज दशैंको पहिलो घटस्थापनासंगै बडादशैं शुरु भएको हो ।

दशैं शुरु भएसंगै सुदूरपश्चिमका जिल्लाहरुमा चहलपहल बढेको छ । देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रही आएको भएपनि बैतडी सहित सुदूरपश्चिममा सामूहिक रुपमा मन्दिरहरुमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी मन्दिरका पुजारी देवदत्त भट्टले बताए  । मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन बर्षौं पहिलादेखि शुरु भएको र यसले सामाजिक सद्भावको विकास गरेको उनले बताए । उनले भने ‘हाम्रो क्षेत्रमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । सोही चलन अनुसार जिल्लाका सबैजसो शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखिएको छ ।’

Atrya hospital

जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी,मेलौली, कफलाशैनी,फाल्ङासैनी लगायतका भगवती मन्दिरहरुमा सामूहिक रुपमा जमरा राखिएको छ । यस्तै महारुद्र, उदयदेव, सिगास, दोगडाकेदार लगायतका मन्दिरहरुमा पनि सामूहिक रुपमा जमरा राखिएको छ ।

दशैं सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । देवीदेवताका मन्दिरहरु जमरा राखेर सामूहिक रुपमै पूजाआजा गर्ने चलन रही आएको उनले बताए । घटस्थापनाका दिन राखिएको जमरालाई धेरै जसो ठाउँमा अष्टमीका दिन काट्ने चलन रही आएको छ । जमरा राखिएका मन्दिरमा रातमा समेत जाग्राम बसेर पूजाआजा गर्ने चलन रही आएको छ । जमरा देवीको प्रसाद का रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ।

दशैंको अवसरमा नवरात्री उपसाना गरेर पूजाआजा गर्ने चलन रही आएको छ । दशैंका बेला शक्तिपीठहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहेको जिल्ला समन्वय समितिका सदस्य रमेश बोहराले जानकारी दिए । दशैंको समयमा सामूहिक रुपमा पूजापाठ गरिने भएकाले घर बाहिर भएका, बसाईसराई गरेर गएकाहरु पनि फर्कने गरेका छन् । यसले गर्दा गाउँघरमा रमाइलो हुने गरेको छ । 

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्म चारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update