Sagun Khabar
बैतडीमा गत बर्ष खाद्यका १२ प्रतिकुल नमूना भेटिए, व्यापारी कारवाहीको दायरामा 

बैतडी –बजार अनुगमनका क्रममा गत आर्थिक बर्षमा बैतडीका खाद्य सामग्रीका १२ ओटा नमूना प्रतिकुल भेटिएका छन् । जिल्लाका विभिन्न स्थानका फर्महरु अनुगमन गर्दा संकलन गरिएका नमूनाहरु प्रतिकुल भेटिएका छन् । प्रतिकुल नमूना भन्नाले उपभोग गर्न नमिल्ने खाद्य सामग्रीलाई बुुझाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए । 

बजार अनुगमनका क्रममा संकलन गरिएका नमूना मध्ये १२ ओटा प्रतिकुल भेटिएका लेखकले बताए । संकलन गरिएका नमूनाहरुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको प्रयोगशालामा परीक्षण गरिएको थियो । ‘हामीले बजार अनुगमनका क्रममा विभिन्न ठाउँबाट नमूना संकलन गरेका थियौं । ती नमूना मध्ये १२ ओटा फर्मबाट संकलन गरिएका नमूना प्रतिकुल भेटिए । यस्ता खाद्य वस्तुहरुको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गर्दछ ।’उनले भने 

प्रतिकुल नमूना भेटिएका फर्मका सञ्चालकहरुलाई कारवाहीको दायरमा ल्याईसकेको कार्यालय प्रमुख लेखकले बताए । ५ जनालाई जिल्ला प्रशासन कार्यालय मार्फत ५ देखि १० हजार जरीवाना गरिएको छ भने ४ जनाको मुद्दालाई रायका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पठाइएको छ । यस्तै तीन जनामाथि अनुसन्धान जारी रहेको लेखकले बताए । 

Atrya hospital

बजार अनुगमनका क्रममा अखाद्य वस्तु विक्रि वितरण गर्नेलाई खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसार कारवाही गर्ने गरिएको लेखकले बताए । उनले भने ‘उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गर्न कसैले पनि पाइदैन । त्यसैले हामीले अनुगमनका क्रममा व्यापारीहरुलाई सचेत समेत गराउने गरेका छौं ।’

उपभोक्ताहरुले पनि खाद्य सामग्री खरीद गर्ने बेलामा उत्पादन मिति हेरेर मात्रै खरीद गर्नुपर्नेमा लेखकले जोड दिए । उनले भने ‘उपभोक्ताहरुले पनि खाद्य सामग्री खरीद गर्ने बेला ध्यान दिनु आवश्यक छ । खाद्य सामग्रीको म्याद छ कि छैन यो बिषयमा उपभोक्ताहरु पनि चनाखो हुनुपर्छ । व्यापारीहरुले पनि उपभोक्ताको स्वास्थ्यमा असर पार्ने खाद्य सामग्री विक्रि गर्नु हुँदैन् ।’

संयुक्त बजार अनुगमन समितिले सबै ठाउँमा अनुगमन गर्न नसक्ने भएकाले स्थानीय तहहरुले बजार अनुगमनमा सक्रियता बढाउनुपर्ने लेखकको सुझाव छ । राजमार्ग छेउका बजारमै म्याद नाघेका सामग्री पाइएकाले ग्रामीण क्षेत्रमा झन् समस्या हुन सक्ने उनले बताए । ग्रामीण क्षेत्रका पसलहरुमा अनुगमन नहुँदा म्याद नाघेका सामग्री निर्धक्क विक्रि भईरहेका छन् । 

उपभोक्ता पनि छैनन् सचेत 

पसलबाट सामग्री किन्दा समान्यतया उत्पादन मिति र उपभोग्य मितिको बारेमा उपभोक्ताहरुले पनि जानकारी राख्नु पर्दछ । तर यो बिषयमा उपभोक्ता अझै सचेत नभएका पाटनका स्थानीय लवदेव जोशीले बताए । उनले भने ‘बजारबाट किनेको सामग्रीको म्याद हेर्ने चलन नै छैन् ।’

उपभोक्ताहरु खाद्य सामग्रीको उपभोग्य अवधिका बारेमा सचेत नहुँदा उपभोक्ता नै मारमा परेका छन् । यसले उनीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने जानकारहरुले बताएका छन् । 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update