Sagun Khabar
दशैंका लागि झुलाघाट नाकाबाट स्वदेश फर्कने बढे, सीमामै कोरोना परीक्षण 

बैतडी –दशैं नजिकिँदै गर्दा भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको छ । गएको एक हप्ता यता सीमा नाकाबाट स्वदेश फर्कनेको संख्या बढेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । उनले भने ‘अहिले सीमा नाकाबाट दैनिक एक सय बढी नागरिक स्वदेश फर्किरहेका छन् । सुदूर तथा कर्णाली प्रदेशका नागरिक यो नाकाबाट स्वदेश फर्किरहेका छन् ।’

रोजगारीका लागि भारतका विभिन्न शहर पसेका नेपाली नागरिक दशैंका लागि घर फर्किने क्रम बढेको झुलाघाटका व्यापारी जयसिंह भाटले बताए । उनले भने ‘हरेक बर्ष दशैंको समयमा झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरु बढ्ने गर्दछन् ।’

Atrya hospital

रोजगारीका लागि भारत पसेका सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक दैनिक रुपमा स्वदेश फर्कने गरेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । 

झुलाघाट नाकाबाट दशैंका लागि घर फर्कने सबै नागरिकको सीमामै कोरोना परीक्षण गरेर मात्रै पठाउने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सीमामै एन्टीजेन परीक्षण गरेर रिपोट नेगेटिभ आएकाहरुलाई मात्रै पठाइने गरिएको छ । कोरोना पोजेटिभ आएकाहरुलाई आइसोलेसनमा बस्न सिफारिश गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

झुलाघाट नाकामा गएको चैतदेखि सञ्चालन भएको हेल्थ डेस्क मार्फत कोरोना परीक्षणको काम हुँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । अहिले दशैंको समयमा बढी नागरिक सीमा नाकाबाट फर्किने भएकाले कोरोना परीक्षण जारी रहेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update