Sagun Khabar
धान भित्र्याउन नपाउँदा बैतडीका किसान चिन्तित 

बैतडी –यो बर्ष असोज तेश्रो साता लाग्दा समेत पानी पर्न नरोकिएपछि बैतडीका विभिन्न स्थानका किसानहरुलाई धानबाली भित्र्याउन समस्या भएको छ । पानी पर्ने क्रम नरोकिएपछि भित्र्याउन लायक भएको धानबाली भित्र्याउन नपाएको किसानहरुले बताएका छन् । 

जिल्लाको पाटन क्षेत्र धान उत्पादनका लागि निकै प्रख्यात भएपनि यो बर्ष समयमै धान भित्र्याउन नपाउँदा किसानहरुलाई समस्या भएको छ । धान भित्र्याउन योग्य भएपनि पानी पर्ने क्रम नरोकिएकाले किसानहरुलाई समस्या भएको स्थानीय लवदेव जोशीले बताए । उनले भने ‘धान काटेर सुकाउन नपाउँदा किसानहरुलाई समस्या भएको छ । आजै काटेको धान आजै थुप्रो बनाउनुपर्ने बाध्यता छ । यसले गर्दा धानको पराल पनि कालो हुने समस्या छ भने धान पनि कालो हुने समस्या रहेको छ ।’

Atrya hospital

पाटन क्षेत्रमा पाटनको सेरो, बिष्टबाटुली सेरो, अर्माली सेरो, डोबरा सेरो, मेल्तडा सेरो लगायतका ठाउँमा धान पाकेको भएपनि बर्षाका कारण किसानहरुले धान भित्र्याउन नपाएका जोशीले बताए । उनले भने ‘दिनमा एक दुई पटक पानी परीरहेको हुन्छ । काटेको धानबालीमा समेत बर्षाले समस्या हुन्छ । बीउ बनाउन पनि राम्रो हुँदैन् । धान पनि पछि कालो हुने गर्दछ ।’

बैतडीमा ९ हजार हेक्टर जमीनमा धानखेती हुने गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०८:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update