Sagun Khabar
नेपाली कांग्रेस बैतडीको उपसभापतिमा चन्दको उम्मेद्वारी घोषणा 

बैतडी –नेपाली कांग्रेस बैतडीको उपसभापति पदमा नेपाली कांग्रेसका युवा नेता तेजबहादुर चन्दले उम्मेद्वारी घोषणा गरेका छन् । यसअघि बैतडी क्षेत्र नं २ को क्षेत्रीय सभापति समेत रहीसकेका चन्दले उम्मेद्वारी घोषणा गरेका हुन् । 

संस्थापन पक्षका तर्फबाट आफूले उम्मेद्वारी घोषणा गरेको चन्दले बताए । यद्यपि संस्थापन पक्षले वर्तमान जिल्ला सचिव बीरबहादुर बिष्ट र पूर्व उपसभापति हरिसिंह धामीलाई उपसभापतिको उम्मेद्वार बनाएको छ । 

Atrya hospital

नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढाउन आफूले उम्मेद्वारी घोषणा गरेको चन्दले बताए । उनले भने ‘भुगोल अनुसार पनि मैले संस्थापन पक्षबाट उपसभापतिको उम्मेद्वारी घोषणा गरेको हुँ । अन्य पदमा संस्थापन पक्षका उम्मेद्वारहरुलाई मेरो समर्थन रहेको छ तर उपसभापति पदमा मैले उम्मेद्वारी घोषणा गरेको छु ।’

चन्दले आफ्नो उम्मेद्वारी घोषणा गरेपछि अहिले संस्थापन पक्षमा असन्तुष्टि रहेको कुरा बाहिर आएको छ । केही दिन पहिला दोगडाकेदारमा कार्यक्रम गरेर सर्वसम्मत उम्मेद्वार घोषणा गरेको संस्थापन पक्षले दाबी गरेको थियो । तर चन्दको उम्मेद्वारीले संस्थापन पक्षभित्रै पनि अन्तरिक मनमुटाव रहेको छर्लंग भएको छ । 

नेपाली कांग्रेसलाई बलियो बनाउन र युवाहरुको मन जित्न आफूले उम्मेद्वारी घोषणा गरेको चन्दले बताए । चन्दले उम्मेद्वारी घोषणा गरेसंगै बैतडीमा दुईजना उपसभापतिका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षका तर्फबाट बीरबहादुर बिष्ट, हरिसिंह धामी र तेजबहादुर चन्द मैदानमा हुनेछन भने संयुक्त संस्थापन पक्षका तर्फबाट रमेश पाण्डेय र खगेन्द्रसिंह धामी चुनावी मैदानमा छन् । 

बैतडीमा चतुरबहादुर चन्दको नेतृत्वमा एउटा प्यानल रही आएको छ भने शिवराज भट्टको नेतृत्वमा अर्को प्यानल रही आएको छ । 

भट्ट प्यानलले आफूलाई संस्थापन पक्ष बताउँदै आएको भएपनि चन्द प्यानलले पनि आफूहरु संयुक्त र संस्थापन प्यानल भएको बताउँदै आएको छ । चन्द प्यानलमा विगतमा देउवा समूहमा रहेका नेताहरुको पनि उम्मेद्वारी परेको छ ।  
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update