Sagun Khabar
कांग्रेस काठमाण्डौ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी

काठमाण्डौ – नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । कांग्रेस काठमाण्डौ महानगरपालिकाको हिजो भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए । 

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य २०७४ सालमा सम्पन्न काठमाण्डौ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । 

Atrya hospital

यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत केसीले बताए । 

लामो समयपछि भएको काठमाण्डौ महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाण्डौको मतदान भएको थियो । काठमाण्डौ महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा ३२ वडा रहेका छन् । 

यसअघि काठमाण्डौको सात  नगरपालिका निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाण्डौका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए ।

दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन समिति अगाडि बढिरहेको छ । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०७:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update