Sagun Khabar
बैतडीको नेपाल राष्ट्रिय माविमा तालाबन्दी 

बैतडी – बैतडीको सुर्नया गाउँपालिका २ सिउडेस्थित नेपाल राष्ट्रिय मावि ग्वानीमा तालाबन्दी गरिएको छ । सो विद्यालयको मल्टिपल भवन निर्माणमा अनियमितता भएको भन्दै आन्दोलनमा उत्रेको संघर्ष समिति र विद्यालयलाई सामग्री दिएर पनि पैसा भुक्तानी नपाएका व्यापारीहरुले आइतबार तालाबन्दी गरेका हुन् । 

३६ लाखको लागतमा विद्यालयमा मल्टिपल भवन निर्माण गर्ने स्टमेट गरिएको भएपनि ४८ लाख रकम खर्च हुँदा समेत विद्यालयको भवन निर्माण कार्य सम्पन्न भईसकेको छैन् । विद्यालयको भवन निर्माण गर्दा व्यापारीहरुबाट  विभिन्न सामग्री खरीद गरेको भएपनि सो बाफतको पैसा समेत भुक्तानी नहुँदा व्यापारीहरुले स्थानीय प्रशासनमा उजुरी समेत दिएका थिए । 

Atrya hospital

आफूहरुको उजुरीका बिषयमा अहिले सम्म कुनै सुनुवाई नभएकाले आन्दोलनमा उत्रेको व्यापारीहरुले बताएका छन् । केही दिन पहिला स्थानीयहरुले संघर्ष समिति गठन गर्दै माग पूरा गर्न आग्रह गरेका थिए । 

विद्यालय भवन निर्माणमा भएको अनियमितता छानबीन हुनुपर्ने, व्यापारीहरुको रकम तिर्नुपर्ने लगायतका माग राखेको भएपनि अहिले सम्म माग पूरा नभएकाले विद्यालयमा तालाबन्दी गरिएको संघर्ष समितिका सदस्य धनबहादुर बिष्टले बताए । उनले भने ‘आफूहरुका माग पूरा नहुँदा सम्म तालाबन्दी जारी रहन्छ । विद्यालय भवन निर्माणमा भएको अनियमितताको छानबीन नहुँदा सम्म हाम्रो संघर्ष जारी रहन्छ ।’

विद्यालय व्यवस्थपन समिति सदस्य डम्मरबहादुर बिष्टको अध्यक्षतमा निर्माण समिति गठन गरेर विद्यालय भवन निर्माणको काम अघि बढाएको थियो । कोरोनाका कारण विभिन्न सामग्री मूल्य बढेकाले भवन निर्माणमा बढी लागत लागेको सो समितिले बताउँदै आएको छ । तर स्थानीयहरुले भने विद्यालय भवन निर्माणमा अनियमितता भएको आरोप लगाउँदै आएका छन् । 

सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्ट सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेकी छिन् । विद्यालय व्यवस्थापन समितिले समेत सो बिषयमा चासो नदिएको स्थानीयहरुको आरोप रही आएको छ । 

नेपाल राष्ट्रिय मावि ग्वानी केही दिन पहिला अज्ञात समूहले तालाबन्दी गरेको थियो । सो तालाबन्दी बिहीबार मात्रै खुलाएको थियो भने फेरी आजदेखि विद्यालयमा तालाबन्दी भएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update