बैतडी - जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मीना अर्यालले नागरिकता बनाउन कार्यालयसम्म पुग्न नसक्ने दुई जना महिलालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
बुधबार आज अशक्त तथा शारीरिक अस्वस्थताका कारण नागरिकता बनाउन प्रशासन कार्यालय आउन नसकेकी सुर्नया गाउँपालिका–२ डुङरीकी ३० वर्षीया कमला ऐरीलाई उहाँकै घरमा पुगेर नागरिकता हस्तान्तरण गरिएको हो ।
यस्तै दशरथचन्द नगरपालिका–१ श्रीखण्डकी ३१ वर्षीया पार्वती लुहारलाइ वडा कार्यालयमै नागरिता हस्तान्तरण गरेको दशरथचन्द नगरपालिका–१ का वडा अध्यक्ष विष्णु दत्त भट्टले बताए ।
लामो समयदेखि नागरिकता पाउन नसकेर राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित भएका नागरीकहरूलाई घरमै नागरिकता दिलाउन पाउनु प्रशासनको दायित्व भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताईन् ।
नागरिकता लिन पाएपछि दुवै जनाका परिवारजनले खुशी व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारी अर्यालप्रति आभार प्रकट गरेका छन् । नागरिकता बनेसँगै अब उनीहरूलाई सरकारी सुविधा प्राप्त गर्ने बाटो खुलेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आउन नसक्ने अपाङ्गता भएका र वृद्धवृद्धालाई घरमै गएर नागरिकता प्रदान गर्ने उद्देश्यले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।
बैतडीमा पाँच वर्षपछि जिल्ला प्रशासनबाट अशक्त नागरिकको घरमै गएर नागरिकता दिन थालिएको हो ।




