Sagun Khabar
बैतडीका सरकारी कार्यालयलाई १ हप्ताको म्यादः अनिवार्य रूपमा वेबसाइट अद्यावधिक गर्नुपर्ने 

बैतडी-जिल्ला प्रशासन कार्यालय बैतडीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूको  बैठक सम्पन्न भएको छ ।

बैठकले सर्वसाधारणलाई सहज, सरल र पारदर्शी रूपमा सूचना पहुँच पु¥याउने उद्देश्यले विभिन्न चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।  सोमवार बसेको बैठकका निर्णय अनुसार जिल्लाका सबै सरकारी कार्यालयहरूले आफ्ना नियमित काम, गतिविधि तथा कार्यक्रमहरूको विवरण अनिवार्य रूपमा आफ्ना आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्नेछ ।

यसैगरी, ऐन बमोजिम हरेक तीन तीन महिनामा प्रकाशन गरिने स्वतः प्रकाशन (सूचनाको हक सम्बन्धी प्रतिवेदन) लाई अझ बढी प्रभावकारी र स्तरीय बनाउने निर्णय भएको छ । सूचना प्रविधिको प्रयोगलाई व्यवस्थित गर्न सबै कार्यालयहरूले आगामी एक हप्ताभित्र आफ्ना वेबसाइटहरू पूर्ण रूपमा अद्यावधिक  गरिसक्नुपर्नेछ ।

बैठकले सूचना प्रवाहको अवस्था र निर्णय कार्यान्वयनको नियमित अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ’सूचना अनुगमन उपसमिति’ समेत गठन गर्ने निर्णय गरेको छ । यस उपसमितिले जिल्लाका सरकारी निकायहरूले गर्ने सूचना प्रवाह र पारदर्शिताको निरन्तर निगरानी गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update