Sagun Khabar
बैतडीका स्थानीय तहमा कांग्रेसको युवा नेतृत्व

 बैतडी – बैतडीमा गएको असोज ९ सम्पन्न भएको नेपाली कांग्रेसको पालिका अधिवेशनले अधिकांश स्थानीय तहमा युवा नेतृत्व चयन गरेको छ । पछिल्लो समयमा कांग्रेसमा युवाहरुको आकर्षण बढ्दै गएकाले कांग्रेसीजनहरुले युवा नेतृत्व रुचाएका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिकाको सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् । दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष समेत रहेका भट्टले युवाहरुलाई नेपाली कांग्रेसमा आवद्ध गराउन आफू क्रियाशील रहने बताए । उनले भने ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । यसमा युवाहरुको आकर्षण बढाउन मेरो भरपुर प्रयास रहन्छ । अनुभवी नेताहरुको अनुभव संगाल्दै पार्टीलाई अगाडि बढाउने योजना रहेको छ ।’

Atrya hospital

अखण्ड सुदूरपश्चिमको आन्दोलनबाट चर्चा आएका जयानन्द जोशी (जयराज) पनि नेपाली कांग्रेस डिलाशैनीको सभापतिमा चयन भएका छन् । पार्टीलाई बलियो बनाउन आफूले भरपुर प्रयास गर्ने उनले बताए । उनले भने ‘राजनीतिमा युवाहरुको चरम निराशा छ । त्यो निराशा चिर्नका लागि हामी लागि पर्नेछौं । नेपाली कांग्रेसलाई बलियो बनाउने तर्फ ध्यान केन्द्रित हुनेछ ।’

यस्तै  जिल्लाको पाटन नगरपालिकाको सभापतिमा युवा मानबहादुर ऐर विजयी भएका छन् । विभिन्न संघसंस्थाहरुमा लामो समयसम्म काम गरेको ऐरले पार्टीलाई जीवन्त बनाउन आफूले पहल गर्ने बताए । उनले भने ‘नेपाली कांग्रेसको नेतृत्वमा युवा आउनुपर्छ भन्ने सोच हो । अब हामी युवाहरुले मिलेर कांग्रेसलाई बलियो पार्टी बनाउनेछौं ।’

जिल्लाको पुर्चौंडी नगरपालिकाको सभापतिमा पनि युवा नेता गणेश गडाल चयन भएका छन् । पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष समेत रहेका गडालले पनि आफूले पार्टीलाई बलियो बनाउने दाबी गरेका छन् । उनले भने ‘राजनीतिलाई सेवाको रुपमा अगाडि बढाउने आफ्नो योजना रहेको छ । युवाहरुले नेतृत्वमा आउँद राम्रो हुन्छ भन्ने सन्देश दिने हिसाबले काम गर्छु ।’

जिल्लाको शिवनाथ गाउँपालिका सभापति युवा नेता हिरा चन्द चयन भएका छन् । जिल्लाका अधिकांश ठाउँमा युवा नेतृत्व आएकाले यसले कांग्रेसलाई फाइदा हुने शिवनाथ गाउँपालिकाका अध्यक्ष समेत रहेका कांग्रेस बैतडीका युवा नेता कर्णसिंह साउँदले बताए । उनले भने ‘पालिका अधिवेशनबाट आएको नेतृत्वले कांग्रेसमा युवाहरुको आकर्षण बढेको देखाएको छ । युवाहरुलाई राजनीतिमा ल्याउन समेत युवा नेतृत्वले पहल गर्नेछ ।’
 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update