बैतडी–बैतडीको पाटन नगरपालिकाभित्रका विद्यालयहरुमा कार्यरत नगर स्वयंसेवक शिक्षक फेरि आन्दोलित भएका छन् ।
पेशागत निरन्तरता, सेवा सुविधा वृद्धि लगायतका मागहरु राखेर नगर स्वयंसेवक शिक्षक आन्दोलित भएका हुन् ।
गौरा पर्व अघि नै आन्दोलनमा उत्रेका शिक्षकहरुका माग गौरापछि सम्बोधन गर्ने आश्वासन दिएको थियो । तर मागहरु पूरा नभएपछि आन्दोलनमा उत्रनुपरेको नगर स्वयंसेवक शिक्षक संघर्ष समितिका संयोजक राजेन्द्र बिष्टले बताए ।
न्यून तलबमा आफूहरुले काम गरिरहँदा नगरपालिकाले आफ्ना माग पूरा गर्न चासो नदेखाएपछि आन्दोलनमा उत्रनुपरेको उनले बताए ।
नगर स्वयंसेवक शिक्षकहरुले भदौ ३० र ३१ गते पेन डाउन गर्ने, असोज १ र २ गते नगरपालिकामा शान्तिपूर्ण धर्ना र असोज ५ गतेदेखि नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्ने गरेर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
पाटन नगरपालिकाभरीका विद्यालयमा १ सय २६ जना नगर स्वयंसेवक शिक्षकहरु कार्यरत रहेका छन् ।




