बैतडी–नेपाली कांग्रेस बैतडीले जिल्लाका ८४ ओटै वडामा असोज ३ मै अधिवेशन हुने प्रष्ट पारेको छ ।
नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी एकढिक्का नभएसम्म कुनै तहका अधिवेशन नगर्ने निर्णयपछि जिल्ला कार्यसमितिको धारणा सार्वजनिक भएको हो ।
नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशी र प्रेमबहादुर चन्दले हस्ताक्षर गरेको पत्रमा सभापति गगनकुमार थापाको नेतृत्वमा पार्टी एकढिक्का र आधिकारिक रहेको प्रष्ट पारेको छ ।
पञ्चेश्वर गाउँपालिकाका सभापतिको अध्यक्षतामा भएको बैठकमा कार्यसमितिका सबै सदस्यहरु उपस्थित नरहेको र केहीलाई झुक्याएर निर्णय गरेको कांग्रेस बैतडीले जनाएको छ ।
जिल्लाका सबै वडामा असोज ३ मै अधिवेशन हुने भएकाले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । तोकिएको जिम्मेवारी पूरा गर्न नसक्नेहरुको जिम्मेवारी हेरफेर गरेर समेत तोकिएकै समयमा वडा अधिवेशन हुने उनले बताए ।
नेपाली कांग्रेसभित्र अहिले संस्थापन र इतर पक्षले महाविधेशनको अलग–अलग कार्यतालिका सार्वजनिक गरेका छन् ।




