बैतडी–बैतडीको पाटनमा आगामी कार्तिक ८ गतेदेखि छैटौं संस्करणको उदयदेव पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।
पाटन नगरपालिका–६ स्थित कृष्ण मावि पाटनको खेलमैदानमा कार्तिक ८ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको आयोजक पाटन एकता समाजका अध्यक्ष किरन चन्दले जानकारी दिए ।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीले बैतडी जिल्लाबाहिरका बढीमा तीन जना खेलाडी समावेश गर्न पाउनेछन् । टीम दर्ताको समय असोज २७ गते राति १२ बजेसम्म तोकिएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन ।
त्यस्तै, म्यान अफ द सिरिजलाई ट्रफीसहित १३ हजार ६ सय ६६ रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समान ५ हजार ६ सय ६६ रुपैयाँ तथा उदयमान खेलाडीलाई ३ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
यस वर्षको प्रतियोगितालाई थप उत्साहजनक र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको आयोजक पाटन एकता समाजका सचिव हरिश केसीले जानकारी दिए ।
यस वर्षको प्रतियोगिताको विजेता टोलीले यसअघि जस्तै आकस्मिक लाभकर नकाटिकनै घोषणा गरिएको पूर्ण रकम पाउने क्लबका कोषाध्यक्ष विरेन्द्र भण्डारीले जानकारी दिए ।




