Sagun Khabar
बैतडीको नेरा माविको भवन निर्माणको बिषयमा छानबीन हुनुपर्ने भन्दै संघर्ष समिति गठन 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय मावि ग्वानीको भवन निर्माणमा अनियमितता भएको भन्दै छानबीनको माग गरिरहेका स्थानीयहरुले संघर्ष समिति गठन गरेका छन् । 

भवन निर्माणको समयमा सामग्री खरीद गरेका ठाउँको पैसा नतिरेको र भवन पनि समयमै निर्माण नगरेको भन्दै स्थानीय प्रशासनमा उजुरी समेत परेको थियो । सो विद्यालयको मल्टिपल भवन निर्माणका ३६ लाख रकम आएपनि निर्माण समितिले ४८ लाख खर्च भईसकेको बताउँदै आएको छ । तर भवन निर्माण कार्य भने सम्पन्न भएको छैन् । 

Atrya hospital

विद्यालयको भवन निर्माण कार्य एकातिर अलपत्र परेको छ भने अर्कोतिर व्यापारीहरुको पैसा समेत तिरेको छैन् । निर्माण समितिले भवन निर्माणका लागि आएको रकम खर्च भईसकेको दाबी गरेको छ । भवन निर्माणमा भएको खर्चका बिषयमा यथाशीघ्र छानबीन गर्नका लागि दबाब दिन संघर्ष समिति गठन गरिएको स्थानीय धनबहादुर बिष्टले बताए । 

नरेन्द्र बिष्टको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको र भवन निर्माणमा भएको अनियमितताका बिषयमा छानबीन नभए आन्दोलन गर्ने चेतावनी समेत दिईएको छ । 

भवन निर्माण समितिका संयोजक डम्मरबहादुर बिष्टले भने विभिन्न कारणले भवन निर्माणको लागत बढेको दाबी गरेका छन् । 

सो विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लीला बिष्ट रहेकी छिन् । स्थानीयहरुले भवन निर्माणमा भएको अनियमितताका बारेमा विद्यालय व्यवस्थापन समितिले समेत चासो नदिएको आरोप लगाउँदै आएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update