बैतडी - बैतडीको सिगास गाउँपालिका वडा नम्बर ६ र ७ को सीमाना हुँदै बग्ने न्वाघरी गाड खोलामा पक्की पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। विशेषगरी वर्षायाममा न्वाघरी गाड खोलामा पानीको बहाव बढेपछि आवतजावत जोखिमपूर्ण हुने गरेको छ।
न्वाघरी गाडमा पुल नहुँदा दैनिक विद्यालय जाने विद्यार्थी तथा शिक्षकहरू सबैभन्दा बढी प्रभावित हुने गरेका छन्। गाडमा पानीको बहाव बढेका बेला विद्यार्थीहरू जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको सिगास गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तेज बहादुर साउदले बताए । केही वर्षअघि स्थानीय सरकारको पहलमा न्वाघरी गाडमा दुईवटा आरसीसी पुल निर्माण गरिएका थिए। पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता भएको भए पनि बाढीले पुल बगाएपछि समस्या झनै बढेको अध्यक्ष साउदको भनाइ रहेको छ ।
स्थानीय बासीलाई पुल बगाएपछि वर्षायाममा वारपार गर्न न्वाघरी गाड खोला तर्नुपर्ने बाध्यता रहेको छ । पानीको बहाव बढेका बेला विद्यार्थी, शिक्षक, वृद्धवृद्धा तथा सर्वसाधारणलाई खोला पार गर्न निकै कठिन हुने गरेको छ। न्वाघरी गाडको बाटो हुँदै सिगास क्षेत्रका बासिन्दा स्थानीय बजार मोरीबगर तथा बझाङको मुख्य बजार देउरा जाने गरेका छन्। यस्तै, गणेश माध्यमिक विद्यालय लेकममा अध्ययन गर्ने विद्यार्थी र विद्यालयमा कार्यरत शिक्षकहरूले समेत यही बाटो प्रयोग गर्दै आएका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर साउदले बताए ।
समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदै पुल निर्माणको माग राखिए पनि अहिलेसम्म माग सम्बोधन नभएको स्थानीयहरुको गुनासो रहेको छ। वर्षायाम सुरु भएसँगै समस्या दोहोरिने गरेकाले दीर्घकालीन समाधानका लागि तत्काल पक्की पुल निर्माण गर्नुपर्ने उनीहरूको माग रहेको छ।
न्वाघरी गाड खोलामा पुल निर्माण भएमा सिगास गाउँपालिका वडा नम्बर ६ र ७ का नागरिकसँगै विद्यार्थी तथा शिक्षकलाई आवतजावतमा सहज हुने स्थानीयले बताएका छन । वर्षायाममा हुने जोखिम अन्त्य गर्न सम्बन्धित स्थानीय तह तथा अन्य सरोकारवाला निकायले प्राथमिकताका साथ पुल निर्माणको काम अघि बढाउनुपर्ने स्थानीयको माग रहेको छ ।




