Sagun Khabar
बैतडीको तिरखडेनीमा चक्लाबन्दी आलुखेती शुरु 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १० तिरखडेनीमा चक्लाबन्दी आलुखेती शुरु गरिएको छ । आलुखेतीबाट किसानहरुको जिविकोपार्जनमा सुधार ल्याउने उद्देश्य सहित चक्लाबन्दी आलुखेती शुरु गरिएको हो । तिरखडेनीमा सिँचाई सुविधा पुगेपछि किसानहरुले चक्लाबन्दी आलुखेती शुरु गरेका हुन् । लिफ्टिङ प्रणाली मार्फत महाकालीको पानी गाउँमा पुगेपछि सिँचाईको सुविधा भएको स्थानीय जयन्ती बुडालले बताइन् । उनले भनिन् ‘हामीले गाउँमा आलुखेती पनि शुरु गरेका छौं । गाउँमा सिँचाई सुविधा पुगेपछि हामीहरुलाई सजिलो भएको छ ।’

अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले सञ्चालन गरिरहेको ट्रोसा परियोजना अन्तर्गत किसानहरुलाई आलुखेतीका लागि बीउ र प्रविधिमा सहयोग गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । कृषि ज्ञान केन्द्र बैतडीसंगको सहकार्यमा समेत किसानहरुलाई ४० क्विन्टल आलुको बीउ अनुदानमा वितरण गरिएको जोशीले बताए । 

Atrya hospital

३३ जना किसानले ५३ रोपनीमा आलुखेतीको शुरुवात गरेको जोशीले बताए । ४० क्विन्टल आलुको बीउबाट ४८० क्विन्टल आलु उत्पादनको लक्ष्य लिईएको छ भने यसबाट किसानहरुले २४ लाख आम्दानी गर्ने अनुमान गरिएको छ । उनले भने ‘हामीले परियोजना अन्तर्गत धनगढी घोषणापत्र जारी गरेका छौं । सोही घोषणापत्र अनुसार सबै सरोकारवालाहरुसंग मिलेर किसानहरुको जिविकोपार्जनमा सुधार ल्याउने योजना अघि सारेका छौं ।’

आलुखेतीका लागि किसानहरुलाई नियमित रुपमा प्राविधिक सहयोग गर्ने पनि जोशीले बताए । ३ महिनाभित्रै उत्पादन हुने हिसाबले किसानहरुले चक्लाबन्दी आलुखेती शुरुवात गरेका हुन् । 

आलुखेतीबाट किसानहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सहयोग पुग्ने स्थानीय जयन्ती चन्दले बताइन् । तिरखडेनीमा सिँचाईको सुविधा पुगेपछि किसानहरुलाई तरकारी खेती गर्न समेत सहज भएको उनले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update