बाजुरा –बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडीस्थित नेपाली सेनाको ईश्वरी बक्स गुल्म थापाथली ब्यारेक नजिकै निषेधित क्षेत्रमा उडाएको ड्रोन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ का २९ बर्षीय तिलक श्रेष्ठले मंगलबार बिहान करिब ११ बजे ब्यारेक नजिक ड्रोन उडाएका थिए ।
ड्रोन उडाइएकोबारे नेपाली सेनाको ईश्वरी बक्स गुल्मबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक नरेशबहादुर शाहीको कमाण्डमा टोली खटिएको थियो ।
प्रहरीका अनुुसार श्रेष्ठले निषेधित क्षेत्रमा ड्रोन उडाएको र ड्रोन उडाउन आवश्यक कागजातसमेत साथमा नरहेको जनाएको छ । प्रहरीले ड्रोन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।




