बैतडी–नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले नेपाली कांग्रेसको संगठन विस्तारका लागि चारतारे चौतारी अभियानलाई निरन्तरता दिने बताएका छन् ।
कांग्रेसको संस्थापन इतर समूहको अधिवेशन आयोजक समितिका संयोजक समेत रहेका बिष्टले ग्रामीण अर्थतन्त्रको विकासका लागि सार्वजनिक बहस गर्नुपर्नेमा जोड दिएका छन् ।
संस्थापन पक्षले वडा अधिवेशनदेखि क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन गरिसकेपछि इतर समूहले असोज १५ देखि वडा अधिवेशनको तयारी गरेको छ ।
अधिवेशनको तयारी स्वरुप कांग्रेस बैतडीको आगामी यात्रा भन्दै बिष्टले चारतारे चौतारी, संगठन रुपान्तरणका लागि त्रिकोण कार्यक्रम, आर्थिक विकासका लागि ग्रामीण अर्थतन्त्र, सामाजिक सदभाव र जलवायु परिवर्तनसम्न्धी चेतनामूलक कार्यक्रम अगाडि सारेका छन् ।
समानान्तर अधिवेशनको तयारीमा रहेको देउवा समूहले संगठनमा युवा,दलित र महिलालाई प्राथमिकता दिने हिसाबले तयारी भएको जनाएको छ । यस्तै कांग्रेसको संगठनलाई बलियो बनाउन चारतारे चौतारी कार्यक्रमलाई निरन्तरता दिने बिष्टले बताए ।
ग्रामीण अर्थतन्त्रको विकास बिना आर्थिक विकास सम्भव नभएकाले समाजलाई ग्रामीण अर्थतन्त्रसँग जोडनु आवश्यक रहेको बिष्टले बताए । कृषिलाई प्राथमिकतामा राखेर ग्रामीण अर्थतन्त्र उकास्ने योजनासहित आफूहरु अगाडि बढ्ने सोचमा रहेको बिष्टले बताए ।
ग्रामीण अर्थतन्त्रको विकासका लागि सार्वजनिक बहस आवश्यक रहेको बताउँदै बिष्टले यसका लागि स्थानीयस्तरबाटै छलफल सञ्चालन गरिने बताए ।
जिल्लाका ८४ ओटै वडामा समानान्तर समिति बनाउने तयारी गरेको संस्थापन इतर समूहले चारओटा दृष्टिकोणसहित आफूहरु नियमित महाधिवेशनको तयारीमा रहेको दाबी गरे ।
पार्टीको संगठन विस्तारका लागि ‘त्रिकोण’ रणनीति
कांग्रेस बैतडीको संस्थापन इतर समूहले सङ्गठन विस्तारका लागि लोकप्रिय अभियान ‘चारतारे चौतारी’ कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ । गाउँ, टोल र बस्ती तहसम्म आम जनता र कार्यकर्ताबीच आपसी संवाद बढाउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छ ।
त्यसैगरी, सङ्गठनमा आमूल रूपान्तरण ल्याउन विशेष ‘त्रिकोण’ (युवा, महिला र दलित) कार्यक्रम सञ्चालन गरिने संयोजक बिष्टले बताए । यस रणनीतिअन्तर्गत नयाँ पुस्ताका युवाहरूलाई राजनीतिको मूलधारमा जोड्ने, निर्णयक तहमा महिलाको सहभागिता सुनिश्चित गर्ने र दलित समुदायको अधिकार रक्षा गर्दै उनीहरूलाई सङ्गठनको नेतृत्वदायी भूमिकामा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
ग्रामीण अर्थतन्त्रमा जोड
बैतडीको भौगोलिक वस्तुस्थितिलाई ध्यानमा राख्दै पार्टीले ग्रामीण अर्थतन्त्रको विकासका लागि एक बृहत् सार्वजनिक बहस चलाउने योजना बनाएको छ । कृषि, स्थानीय उत्पादन, पर्यटन र स्वरोजगारका अवसरहरू सिर्जना गरी जिल्लाबाट हुने बसाइँसराइ रोक्न यो बहसले ठोस नीति निर्माण गर्ने कांग्रेसले जनाएको छ ।
यसका साथै, समाजमा परम्परागत रूपमा रहँदै आएको सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै बैतडी कांग्रेसले ऐतिहासिक रूपमा जलवायु परिवर्तनसम्बन्धी चेतना अभियानलाई जनताको बीचमा लैजाने जनाएको छ ।
वातावरणीय संकट, पानीका मुहानको संरक्षण र दिगो विकासका विविध कार्ययोजनासहित कांग्रेस कार्यकर्ताहरू अब जनताको घरदैलोमा पुग्ने बताइएको छ ।
संयोजक वीरबहादुर विष्टका अनुसार यी विविध कार्ययोजनाहरूले बैतडी कांग्रेसलाई थप जनमुखी, समावेशी र गतिशील बनाउनेछन्, जसले आगामी १५औँ महाधिवेशनलाई जिल्लामा बलियो एकताका साथ भव्य रूपमा सम्पन्न गर्न बलियो आधार तयार पार्नेछ ।




