बैतडी–बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेको रातापानी टोलमा खसेको पहिरोले २० भन्दा बढी घर परिवार उच्च जोखिममा परेका छन् ।
रातापानी टोलमा पहिलादेखि नै पहिरो खसेको र लगातारको वर्षाले निरन्तर पहिरो खस्दा जोखिम बढेको स्थानीयहरुले बताएका छन् । निरन्तर पहिरो बग्न थालेपछि रातापानी र तल्लोढोलेका २० भन्दा बढी परिवार पहिरोको जोखिममा परेका स्थानीय डम्मर बोहराले बताए ।
माथिबाट लगातार पहिरो खसेको र उक्त पहिरोले सुर्नया नदी थुनिएपछि नदीको बहाव गाउँतिर फर्कन थालेको बोहराले बताए । नदी थुनिएर बस्तीमा पस्ने जोखिम बढेपछि नदी किनारका घरहरूमा समेत खतरा बढेको बताइएको छ ।
पहिरोका कारण स्थानीयहरु उच्च जोखिममा परेका भएपनि सरोकारवाला निकायहरुको ध्यान पुग्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।
थुनिएको नदी निकासका लागि गाउँपालिकाले जेसीबी पठाएपनि उक्त मेसिनले काम गर्न सकिने अवस्था नरहेको स्थानीय बिरबहादुर बोहराले बताए । ठूलो मेसिन ल्याएर पहिरो पन्छ्याउनुपर्नेमा उनले जोड दिएका छन् ।
पहिरोका कारण आवतजावत गर्ने बाटो समेत अवरुद्ध भएको स्थानीय आनन्द बोहराले बताए । पहिरो रोकथाम र जोखिम न्यूनीकरणका लागि सरकारले उचित पहल गर्नुपर्ने उनले बताए ।
गएको महिना प्रमुख जिल्ला अधिकारीसहितको टोलीले रातापानी पहिरोको स्थलगत निरीक्षण गरेको थियो ।
पहिरोका कारण मल्लोढोले र तल्लोढोलेका बस्तीहरु जोखिममा रहेका वडा अध्यक्ष भानबहादुर बोहराले बताए । पहिरो रोकथाम र नियन्त्रणका लागि संघीय सरकारसँग आग्रह गरिएको उनले बताए ।




