Sagun Khabar
बैतडी कांग्रेसमा ८ जना देउवा पक्षका सभापति विजयी भएको दाबी 

बैतडी –नेपाली कांग्रेस बैतडीको शनिबार सम्पन्न पालिका अधिवेशनबाट विजयी भएका सभापतिहरु मध्ये अधिकांश देउवा पक्षका भएको दाबी गरिएको छ । १० स्थानीय तहमध्ये २ स्थानीय तहमा पौडेल पक्ष र ८ स्थानीय तहमा देउवा पक्षका सभापति विजयी भएको नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले बताए । 

जिल्लाको दशरथचन्द नगरपालिकाका सभापति भुवनराज भट्ट र डिलाशैनी गाउँपालिकाका सभापति जयानन्द जोशीलाई पौडेल पक्षका भनिएको छ ।यद्यपि उनीहरुले भने आफूहरु साझा उम्मेद्वार भएर निर्वाचन जितेको बताएका छन् । ‘म नेपाली कांग्रेस दशरथचन्द नगरपालिकाको साझा उम्मेद्वार हुँ । सबै साथीभाईहरुको सहयोगले म निर्वाचित भएको छु । म सबैको साझा सभापति हुँ ।’दशरथचन्द नगरसभापति भुवनराज भट्टले भने, ‘हामी अहिले गुटभन्दा पनि बलियो कांग्रेस कसरी बनाउने भन्ने योजनामा छौं ।’

Atrya hospital

जिल्लाको पाटन नगरपालिकाका सभापति मानबहादुर ऐर, मेलौली नगरपालिकाका सभापति प्रमानन्द भट्ट र पुर्चौंडी नगरपालिकाका सभापति गणेशबहादुर गडाल देउवा पक्षका भएका दाबी गरिएको छ । 

यस्तै सुर्नया गाउँपालिकाका सभापति प्रतापसिंह महरा, दोगडाकेदार गाउँपालिकाका सभापति नन्दराज भट्ट, सिगास गाउँपालिकाका सभापति कर्णबहादुर ऐरी, शिवनाथ गाउँपालिकाका सभापति हिरा चन्द र पञ्चेश्वर गाउँपालिकाका सभापति रामबहादुर चन्द पनि संस्थापन पक्षकै भएका तरुण दल उपाध्यक्ष भट्टले बताए । 

नेपाली कांग्रेसका जिल्ला सचिव प्रेमबहादुर चन्दले भने सभापतिमा केही ठाउँमा अर्को पक्षको पल्लाभारी देखिएको भएपनि पदाधिकारीमा आफूहरुको वर्चस्व रहेको दाबी गरे । उनले भने ‘अहिले नै सबै कुरा नभनौ । जिल्ला अधिवेशनले को कसका भन्ने राम्रोसंग बुझाउनेछ ।’

नेपाली कांग्रेस बैतडीको नेतृत्वका लागि सभापति देउवा पक्षको तर्फबाट शिवराज भट्ट नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने अर्को पक्षबाट चतुरबहादुर चन्द नेतृत्वको प्यानल चुनावी मैदानमा छन् । 

चन्दको प्यानलाई पौडेल पक्ष भन्ने गरिएपनि सो प्यानलले संयुक्त र संस्थापन प्यानल आफूहरु भएको दाबी गरेको छ । उम्मेद्वारी घोषणा गरेकै दिन चन्द नेतृत्वको प्यानलले संस्थापन पक्षको संयुक्त प्यानलका उम्मेद्वार घोषणा गरेको जनाएको थियो । सो प्यानलमा यो भन्दा पहिला सभापति देउवाको पक्षमा रहेका नेताहरुको पनि उम्मेद्वारी रहेकाले आफूहरु साझा प्यानल भएको सचिव चन्दले दाबी गरे । 
 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update