बाजुरा –सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा पूजा शुरु हुने भएको छ ।
बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार मुख्य पूजा भदौ ११ गते हुने भए पनि एकै दिन अत्यधिक भीड हुने भएकाले दर्शनार्थीको सहजताका लागि भदौ १ गतेदेखि नै पूजा शुरु गर्न लागिएको हो ।
बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा गर्ने परम्परा छ । मुख्य पूजाका अतिरिक्त अन्य समयमा पनि तीर्थालु तथा पर्यटक पुग्ने गरेका छन् ।
गत वर्ष करिब ४५ हजारभन्दा बढी भक्तजनले बडीमालिकाको दर्शन गरेका थिए । यस वर्ष पनि देशका विभिन्न जिल्लासहित छिमेकी भारतबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने अपेक्षा गरिएको छ । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली बडीमालिका जाने परम्परा छ ।
पछिल्लो समय बडीमालिकाको धार्मिक तथा पर्यटकीय महत्वबारे प्रचारप्रसार बढेसँगै यहाँ पुग्ने पर्यटकको संख्या पनि बढ्दै गएको स्थानीयहरुले बताएका छन् । नेपाली सेनाले करिब दुई करोड रुपैयाँको लागतमा प्यागोडा शैलीमा निर्माण गरेको नयाँ बडीमालिका मन्दिरले पनि क्षेत्रको आकर्षण थप बढाएको छ ।
बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काका अनुसार बडीमालिका क्षेत्रमा फोन नेटवर्कको समस्या समाधान गर्न यस वर्षको मेला अगावै टेलिकम टावर राख्ने काम भइरहेको छ ।
समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका लागि समेत प्रसिद्ध छ ।




