बझाङ –बझाङ प्रहरीले फरक–फरक मुद्दामा अदालतबाट कैद सजाय तोकिएर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनका क्रममा सुर्मा गाउँपालिका–२ निवासी २९ वर्षीय विनोद बोहरालाई शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो । उनलाई उच्च अदालत दिपायलको २०७५ कात्तिक १३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना २१ दिन कैद सजाय तोकेको थियो ।
यस्तै, सोही स्थानका ४० वर्षीय हरिस बोहरालाई पनि प्रहरीले शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको छ । जिल्ला अदालत बझाङको २०७३ असार २० गतेको फैसलाअनुसार उनलाई कुटपिट मुद्दामा ४ वर्ष कैद सजाय तथा २ हजार ५०० रुपैयाँ जरिवाना तोकिएको थियो ।
पक्राउ परेका दुवै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।




