Sagun Khabar
व्यापारीको हत्यापछि बैतडीको सुर्नया ४ का स्थानीयबासी त्रसित 

बैतडी –यही असोज ६ गते राती सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या भएपछि स्थानीयबासी त्रसित बनेका छन् । सनशेरीमाण्डौंमा पसल सञ्चालन गर्दै आएका महराको फलामको रडले हानेर हत्या गरेपछि अहिले स्थानीयहरु त्रसित बनेका त्यहाँका बासिन्दा रामबहादुर महराले बताए । उनले भने ‘हाम्रो यो क्षेत्रमा यस्तो कहिले भएको थिएन् । समाजमै अपराधीहरु रहेछन् भनेर स्थानीयहरु त्रसित भएका छन् ।’

सनशेरीमाण्डौंमा पसल सञ्चालन गर्दै आएका महराको हत्या आरोपमा ४ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा स्थानीयहरु नै पक्राउ परेपछि गाउँलेहरु झन् त्रसित बनेका हुन् । ‘हामीले गाउँकै मान्छेहरुले यस्तो गर्लान भनेर सोचेका थिएनौं । हत्यामा उनीहरुकै संलग्नता पाइएपछि झन् त्रास बढेको छ ।’महराले भने, ‘स्थानीय बजारमै ज्यान मार्ने घटना हुन थालेपछि अहिले निकै तनावपूर्ण स्थिती सिर्जना भएको छ ।’

Atrya hospital

महराको आफ्नै गाउँ नजिकैको बजारमा हत्या भएपछि अहिले गाउँका महिलाहरु त्रसित बनेका स्थानीय धनसिंह महराले बताए । उनले भने ‘यस्तो जघन्य अपराध भएपछि मान्छेहरु त्रासमा परेका छन् । आफ्नै पसल चलाएका व्यक्तिलाई यसरी मार्दा डरको स्थिती पैदा भएको छ ।’ 

व्यापारी कमले महराको हत्या गरेको आरोपमा सुर्नया ५ हरिचनका २६ बर्षीय रामबहादुर मडै, सुर्नया ४ का हरिशसिंह महरा, होटेल साहु रामबहादुर महरा र शंकरसिंह महरालाई पक्राउ गरेर अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पाटनमा प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनले भने ‘आरोपितहरुमाथि अनुसन्धान भईरहेको छ । बयान लिने क्रम जारी रहेको छ ।’
 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update