कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि रु. २ करोड सहयोग गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीहरूको औषधि उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णयसमेत गरेको छ । स्वास्थ्य टोलीले प्रभावित क्षेत्रमा पुगेर आवश्यक स्वास्थ्य सेवा तथा औषधि उपचारमा सहयोग गर्ने जनाइएको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको सदस्यमा गंगा दत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने निर्णयसमेत गरिएको छ ।
यस्तै मुख्यमन्त्री खगराज भट्ट र मन्त्रीहरूले आफ्नो एक महिनाको तलब रसुवाका बाढी प्रभावित नागरिकको सहयोगका गर्ने भएका छन् । मन्त्रिपरिषद बैठकमा उक्त निर्णय पनि भएको जनाइएको छ ।
प्रदेश सरकारले विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार, खोजतलास तथा स्वास्थ्य उपचारमा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले यी निर्णय गरेको जनाएको छ ।




