Sagun Khabar
बैतडीका कृषि उद्यमी टेक बहादुर कार्की सुदूरपश्चिम प्रदेश सरकारबाट उत्कृष्ट उद्यमी सम्मानित

बैतडी- बैतडीका कृषि उद्यमी टेक बहादुर कार्कीलाई सुदूरपश्चिम प्रदेश सरकारले उत्कृष्ट उद्यमीका रूपमा सम्मान गरेको छ। दोगडाकेदार गाउँपालिका–७ का कार्कीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एक विशेष कार्यक्रमका बिच पुरस्कृत गरेको हो।

बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजित ुउत्कृष्ट उद्यमी सम्मान कार्यक्रमु मा सामाजिक विकास मन्त्री बेल बहादुर राना मगरले उद्यमी कार्कीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरे।
 
कार्कीले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ रिखालीमा ुसुदर्शन कृषि तथा लघु उद्यम फर्मु सञ्चालन गर्दै आएका छन्। उनको फर्मले स्थानीय स्तरमा पाइने अर्गानिक कच्चा पदार्थहरूको प्रयोग गरी विभिन्न स्वादका अचार तथा मसलाहरू उत्पादन र बिक्री वितरण गर्दै आएको छ। उनले उत्पादन गरेका अचार तथा मसलाहरूको माग स्वदेशमा मात्र नभई विदेशमा समेत रहेको कार्कीले जानकारी दिए।

व्यवसायका साथै उनले उद्यमशीलता विकासमा पनि योगदान पुर्‍याएका छन्। हालसम्म स्थानीय र जिल्ला बाहिरका गरी करिब २५० जनाभन्दा बढीलाई अचार तथा मसला उत्पादन सम्बन्धी सीपमूलक तालिम समेत दिइसकेको कार्कीले बताए।
 
स्थानीय वडा तथा पालिकाको सिफारिसका आधारमा प्रदेशबाट उत्कृष्ट उद्यमी छानिएका कार्कीले राज्यबाट आफ्नो कामको मूल्याङ्कन हुँदा गौरवान्वित महसुस भएको र थप हौसला बढेको बताए। पछिल्लो समय अर्गानिक उत्पादनको माग बढ्दै गएकाले व्यवसाय विस्तारको सोचमा उनी छन्।

आफ्नो उत्पादनलाई अझ बढी बजारिकरण गर्न स्थानीय सरकारले सहयोग गरिदिएमा रैथाने उत्पादनमा आधारित उद्यमलाई थप सुदृढ बनाउन सकिने कार्कीको भनाइ छ। स्थानीय स्रोत साधनको अधिकतम उपयोग र व्यवसायीकरणमा सरकारको साथ आवश्यक रहेको उनले उल्लेख गरे।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update