बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले शैक्षिक सत्र २०८२ सालको एसईई र कक्षा ८ को आधारभूत परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
पालिकाभरीका विद्यार्थीमध्ये एसईई र कक्षा–८ को परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको हो । सम्बन्धित विद्यालयमार्फत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए ।
एसईईमा उत्कृष्ट तीन जना र कक्षा ८ को परीक्षमा उत्कृष्ट तीन जना गरेर ६ जनालाई पुरस्कार वितरण गरिएको अवस्थीले बताए ।
एसईई सहभागी भएका विद्यार्थीमध्ये वासुदेव मावि लिस्किटका अनिल ऐरी ३ दशमलव ३० जिपिएसहित पालिकाभरी प्रथम भएकाले उनलाई ११ हजार २५० रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । विद्यालयले आज उनलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेको विद्यालयका प्रधानाध्यापक जितबहादुर पाण्डेले बताए ।
यस्तै ३ दशमलव २३ जिपीएसहित पालिकाभरी दोश्रो भएका केदार मावि कठमडाका लोकेश बोहरालाई ९ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको प्रधानाध्यापक विरेन्द्रबहादुर चन्दले बताए ।
यस्तै ३ दशमलव २२ जिपीएसहित पालिकाभरी तेश्रो भएका शंकर संस्कृत मावि मूलखटालीका मनिष अवस्थीलाई नगद ७ हजार पाँचसय सहित प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक भानबहादुर बिष्टले बताए ।
यस्तै कक्षाको ८ को पालिकास्तरीय परीक्षामा प्रथम भएका वासुदेव मावि लिस्किटका रुद्रराज भट्टलाई ८ हजार २ सय ५० नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै दोश्रो भएकी रौलेश्वर मावि रामकी बरायलकी दिक्षा मडैलाई नगद ६ हजारसहित प्रमाण पत्र र तेश्रो भएका सोही विद्यालयका रिजन मडैलाई नगद ४ हजार ५ सयसहित प्रमाण पत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक गोपालसिंह मडैले बताए ।
गाउँपालिकाभित्रका मेधावी विद्यार्थीहरुको मनोबल बढाउन पुरस्कार तथा सम्मानपत्र दिने कार्यक्रमलाई निरन्तरता दिइएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।





