बैतडी– धनगढीमा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा बैतडी घर भएका एक जनाको मृत्यु भएको छ ।
आइतबार राति कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–४ का ४८ बर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि मायामेट्रो अस्पताल पु¥याइए पनि उपचारकै क्रममा राति करिब पौने ११ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोटरसाइकल चालक गौतम ऐर भने सकुशल रहेका छन् । दुर्घटनापछि ठक्कर दिने भारतीय नम्बर प्लेटको गाडीसहित चालक घटनास्थलबाट फरार भएका छन् । फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।





