कैलाली –कैलालीमा घुससहित एकजनालाई रंगेहात पक्राउ गरिएको छ ।
अख्तियारको कञ्चनपुरस्थित कार्यालयले कैलालीको गौरीगंगा नगरपालिका–४ मा रहेको कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई बिहीबार दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
अख्तियार कञ्चनपुरका प्रवक्ता चेतराज भट्टका अनुसार विद्यालयमा कार्यरत कर्मचारीलाई सेवा–सुविधा वृद्धि गरिदिने प्रलोभन देखाउँदै बमले रकम मागेको सूचना प्राप्त भएपछि आयोगले ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गरेको थियो । सोही क्रममा उनलाई धनगढी–१ मा रहेको एक डेरी पसलबाट रकमसहित नियन्त्रणमा लिइएको हो ।
यसअघि गत वर्ष ५ साउनमा अख्तियारले कैलालीका सहायक वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख ३१ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको थियो । त्यसपछि करिब १३ महिनासम्म कञ्चनपुरस्थित अख्तियार कार्यालयले भ्रष्टाचारमा संलग्न कर्मचारी, बिचौलिया वा अन्य व्यक्तिलाई नगद वा भौतिक घुससहित पक्राउ गरेको थिएन् ।
संघीय सरकारले विद्यालय कर्मचारीको तलब वृद्धि गरेको भोलिपल्टै विद्यालय व्यवस्थापन समितिका सदस्यले कर्मचारीबाट ठूलो रकम मागेको घटना सार्वजनिक भएपछि विद्यालय कर्मचारीसमेत असन्तुष्ट बनेका छन् ।




