Sagun Khabar
सुर्नयाको रातापानीमा निरन्तर पहिरो खस्दै, बस्ती जोखिममा 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–८ ढोले रातापानी टोलमा निरन्तर रुपमा पहिरो खस्न थालेपछि तलतिरका बस्ती जोखिममा परेका छन् । 

गएको साउन २६ गते खसेको पहिरोले रातापानी टोलका स्थानीयहरुको घर तथा जग्गामा क्षति पुर्याएको थियो । त्यसयता लगातार रुपमा खसीरहेको पहिरोले रातापानी तलतिरका गाउँ पनि जोखिममा परेका स्थानीय समेत रहेका शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बीरबहादुर बोहराले बताए । 

रातापानी टोलबाट खसेको पहिरोले बाघघर टोलमा जाने खानेपानीको मूहान र पाइप बगाउँदा गाउँमा खानेपानीको समस्या भएको बोहराले बताए । उक्त पहिरोकै कारण बाघघर टोलका ३० परिवार पहिरोको जोखिममा परेका उनले बताए । 

माथिबाट खसेको पहिरो सडकमा जमा भएर तलाउ बनेको बताइएको छ । पहिरोकै कारण विद्यालय जाने र अन्यत्र आवतजावत गर्ने बाटो समेत अवरुद्ध हुँदा स्थानीयहरु मारमा परेका छन् । 

रातापानीमा २०७४ साल यता निरन्तर रुपमा पहिरो खसीरहेको स्थानीय रामसिंह बोहराले बताए । हरेक बर्ष बर्षातको समयमा रातापानीका बासिन्दाहरुले ज्यान जोगाउन अन्यत्र जानुपर्ने बाध्यता रही आएको उनले बताए । 

पहिरोले खानेपानीका मूहान र पाइप लाइन बगाएपछि बाघघर टोलका स्थानीयहरुको धमिलो पानी पिउन बाध्य भएका छन् । यसले विभिन्न स्वास्थ्य समस्याहरु निम्तिने खतरा बढ्दै गएको बोहराले बताए । 
रातापानी पहिरोले २०७६ सालयता बढी क्षति पुर्याउन थालेको स्थानीय गजेन्द्र बोहराले बताए । 

पहिरो रोकथामका लागि सरोकारवाला निकायहरुलाई बारम्बार आग्रह गर्दा समेत कसैले चासो नदिएको बोहराको आरोप छ । पहिरोको प्रभावकारी रोकथाम र दीर्घकालिन समाधानका उपाय नखोज्दा स्थानीयहरुले त्रसित भएर बस्नु परेको उनले बताए । 

स्थानीय सरकारले पटक–पटक पहिरो नियन्त्रणका लागि पहल गर्ने तथा समस्या समाधान गर्ने आश्वासन दिँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको स्थानीयको आरोप छ । वर्षौंदेखि पहिरोको जोखिममा रहेका परिवारको सुरक्षित व्यवस्थापन र पहिरो नियन्त्रणका लागि ठोस पहल नहुँदा स्थानीयमा थप निराशा बढेको छ ।

स्थानीयबासीले तत्काल स्थलगत निरीक्षण गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न, क्षतिको उचित मूल्यांकन गर्न, विद्युत् तथा खानेपानी सेवा पुनःस्थापना गर्न र पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना अघि बढाउन स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update