बैतडी–बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले शनिबार एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
जिल्लाभरीका जन्मेदेखि १५ महिनासम्मका ३ हजार ९ सय ३१ जना र १६ महिनादेखि ५९ महिनासम्मका ११ हजार ७ सय ९४ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए । जन्मेदेखि १५ महिनासम्मका बालबालिकामध्ये एकजनाले खोप नलगाएको पाइएपछि ती बालकलाई खोप लगाइएको थियो । यस्तै १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुमध्ये १७ जना खोप नलगाएको पाइएको र उनीहरुलाई पनि खोप लगाएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
बैतडीलाई २०७२ साल असार ६ गते नेपालकै सातौं पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक बर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदैै आएको स्वास्थ्य कार्यालयका प्रमुख तिर्थराज भट्टले बताए ।
जिल्लाकै ८४ ओटै वडा र १० ओटै पालिका पूर्ण खोप सुनिश्चित घोषणापछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाले पूर्ण खोप सुनिश्चित घोषणाका सबै मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको भट्टले बताए ।
जिल्लाका १० ओटै स्थानीय तहहरुलाई जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित पालिकाको प्रमाणपत्र प्रदान गरेको छ ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले जिल्लालाई हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि समितिकातर्फबाट गर्न सकिने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दश जना स्वास्थ्यकर्मी सम्मानित
पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि महत्वपूर्ण सहयोग पुर्याएका १० जना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । प्रत्येक स्थानीय तहबाट एक÷एक जना गरेर दश जनालाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए ।
सम्मानित हुनेमा दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकीका अहेव सन्तोष राय यादव, शिवनाथ गाउँपालिकाको शिवनाथ स्वास्थ्यचौकीकी अनमी राधिका धनाडी, पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीकी सिनियर अहेव रतनाकुमारी भण्डारी, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी स्वास्थ्यचौकीकी सिनियर अहेव भागरथी कुमारी टेर र सुर्नया गाउँपालिकाको वासुदेव आधारभूत स्वास्थ्य केन्द्रकी सिनयर अनमी महेश्वरी पाण्डेय रहेका छन् ।
यस्तै सिगास गाउँपालिकाको चौखाम स्वास्थ्यचौकीका अहेव निलेशकुमार यादव, पाटन नगरपालिकाको वसन्तपुर स्वास्थ्यचौकीकी सिनियर अनमी गोमती चन्द, पञ्चेश्वर गाउँपालिकाको रोडीदेवल स्वास्थ्यचौकीकी सिनियर अनमी हिरादेवी भण्डारी र डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर स्वास्थ्यचौकीकी सिनियर अहेव निर्मला नाथ पनि सम्मानित भएका छन् ।
पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालयले हरेक बर्ष स्वास्थ्यकर्मीहरुलाई सम्मानित गर्दै आएको छ ।





